काठमाडाैं । सगरमाथा आरोहणका लागि पहिलो पटक एउटा अश्वेत अमेरिकीको समूह नै नेपाल आउन लागेको छ। द वासिङ्टन पोष्टका अनुसार आउने मेमा ९ जनाको उक्त समूह सगरमाथा चढ्न आउन लागेको हो। उनीहरूले आफ्नो टिमको नाम फुल सर्कल एभरेष्ट एक्स्पिडिसन राखेका छन्।
सन् १९५३ मा एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले संसारको सबैभन्दा उच्च शिखरको पहिलो पटक आरोहण गरेका थिए। त्यसयता १० हजार बढी मानिसले सगरमाथाको चुचुरो चुमेका छन् तर तीमध्ये एकदमै थोरैमात्र अश्वेतहरू छन्। अमेरिकाबाट त एक जनामात्रै काला जातिका मानिसले सगरमाथा चढेका छन्।
सगरमाथा आरोहणमा नयाँ रेकर्ड कायम राख्न अश्वेतहरूकोमात्रै समूह बनाएर चढ्न लागिएको टिमको निर्माण गर्ने फिलिप हेन्डरसनले बताएका छन्।उनका अनुसार पहिलो पटक सबै अश्वेतहरूको समूह बनाएर सगरमाथा चढ्न लागिएको भए पनि त्यसमा पनि विविधता खोजिएको छ।
सगरमाथा आरोहण टिममा रोसमरी साल (२८) , एडी टेलर (३१), अबी डायन (४५), जेम्स काबाम्गी (६०), मानोह ऐनु (२५), फ्रेड क्याम्पबेल (३७), डेमोन्ड मुलिन्स (४०) र थोमस मुर (३७) छन्। उनीहरूको उमेरजस्तै पेसा व्यवसाय र पृष्ठभूमि पनि फरक-फरक छ।हेन्डरसनले यसअघि पनि सन् २०१२ मा यस्तै प्रयास गरेका थिए तर त्यतिबेला उनको प्रयास सफल हुन सकेन।
यसपालिको योजना सफल पार्न उनीहरूले हिमाल आरोहणको तालिम र चन्दा उठाउने काम गर्नेछन्। उनीहरूलाई नर्थ फेस, हेस्ट्रालगायत कम्पनीहरूले पनि साथ दिएका छन्।सुरूमा एक्लाएक्लै आरोहणको तालिम गर्ने उनीहरूले पछि संयुक्त रूपमा तालिम गर्ने तयारी रहेको हेन्डरसनले बताएका छन्।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved