अघिल्लो साता मृत्यु भएका जोर्ज फ्लोइडको स्मृति कार्यक्रममा उनका वकिलले जातिवादको महामारीले मिनेसोटा सहरमा प्रहरीको हातबाट उनको मृत्यु भएको बताए।
प्रहरीले फ्लोइडको घाँटीमा करिब ९ मिनेट घुँडाले थिचेका कारण भएको भनिएको उनको मृत्युलाई बेन्जामिन क्रम्पले कुकर्म भनेका छन्।
मिनियापलिसमा गरिएको उक्त स्मृति कार्यक्रममा सयौँ मानिस सहभागी भएका छन् र त्यहाँ मानवअधिकारकर्मी याल शार्प्टनले पनि सम्बोधन गरेका थिए। उनले उक्त सभामा हाम्रो घाँटीबाट तिम्रो खुट्टा झिकु भन्ने समय आएको बताए।
यसैबीच, फ्लोइडको हत्यामा सहयोग गरेको र मतियार बनेको आरोपमा अभियोग लागेका तीन प्रहरी अधिकारीहरू पहिलोपटक अदालत पुगेका छन्।
फ्लोइडले सास फेर्न गाह्रो भयो भनिरहँदा पनि घाँटी थिचिरहेका प्रहरी अधिकारी डेरेक शोभिनविरुद्ध चाहिँ आशययुक्त हत्याको आरोप लागेको छ। उनी सोमवार अदालतमा उपस्थित हुनेछन् ।
प्रहरीले घाँटीमा थिचेको देखिने भिडिओ सार्वजनिक भएपछि फ्लोइडको मृत्युलाई लिएर अमेरिकाभरि विभिन्न सहरहरूमा आक्रोश निम्त्याएको छ।
विगत ८ दिनमा भएका धेरैजसो प्रदर्शनहरू शान्तिपूर्ण नै भएका छन् तर केही सहरहरूमा भने हिंसा र झडप हुँदा त्यहाँ कर्फ्यू लगाइएको छ।
स्मृति कार्यक्रममा बोल्दै फ्लोइड परिवारका वकिल बेन्जामिन क्रम्पले जोर्ज फ्लोइडको मृत्यु कोरोनाभाइरसको महामारीले नभइ जातिवाद र भेदभावको महामारीले भएको बताए।
मिनियापलिस डाउनटाउनस्थित नर्थ सेन्ट्रल युनिभर्सिटीमा भएको कार्यक्रममा फ्लोइडको परिवारका सदस्यहरू, मिनेसोटाका गभर्नर, सिनेटर र मिनियापलिसका मेयरसहित सयौँ मानिसहरू भेला भएका थिए।
फ्लोइडका एकजना भाइ फिलोनाइसले आफूहरू सानो हुँदा परिवार कति गरिब थियो र कसरी उनीहरूले कपडा धोएर ओभनमा सुकाउने गर्थे भनेर सम्झिए। अहिले आफ्ना दाइका लागि यति धेरै मान्छे जम्मा हुनुमा उनले धेरैको हृदय छोएको देखाएको बताए।
मानवअधिकारकर्मी शार्प्टनले जवाफदेहिताको माग गरेका छन्। अमेरिकाका थुप्रै राज्यहरूमा प्रदर्शनहरू भइरहेको कुरा उल्लेख गर्दै उनले भने, अब हामी रोकिँदैनौँ। न्याय प्रणाली पूर्ण रुपमा परिवर्तन नगर्दासम्म हामी रोकिने छैनौँ।
फ्लोइडलाई जे भयो त्यो यो देशको शिक्षा, स्वास्थ्य र अन्य क्षेत्रमा प्रत्येक दिन हुन्छ। जोर्जको नाममा हामी एक भएर तिमीहरूको घुँडा हाम्रो घाँटीबाट निकाल भन्नुपर्ने बेला आएको छ, उनले भने।
नर्थ क्यारोलाइनास्थित फ्लोइड जन्मिएको ठाउँमा शनिवार र उनको गृहनगर ह्यूजटनमा सोमबार थप स्मृति कार्यक्रम हुनेछन्।
बिबिसि
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved