पत्रकारितामा एआईको उपयोग’ विषयक तीनदिने कार्यशाला सम्पन्न

  • मंसिर ४, २०८३
  • कालापानी मिडिया
alt

ललितपुर । कृत्रिम बौद्धिकता (एआई) को द्रुत विकाससँगै बदलिँदो सञ्चार परिदृश्यमा पत्रकारहरूलाई प्रविधिमैत्री र प्रतिस्पर्धी बनाउने उद्देश्यले ललितपुरमा आयोजित तीनदिने विशेष कार्यशाला शुक्रबार सम्पन्न भएको छ ।

सञ्चार रजिस्ट्रार कार्यालय, बागमती प्रदेशको आयोजनामा जावलाखेलमा सञ्चालित ‘पत्रकारितामा एआईको उपयोग’ विषयक उक्त कार्यशालामा प्रदेशका २५ भन्दा बढी क्रियाशील सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो । प्रविधिले पत्रकारिताको स्वरूप फेरिरहेका बेला समाचार कक्षलाई अझ छिटो, तथ्यपरक र विश्वसनीय बनाउने व्यावहारिक सीप सिकाउन कार्यशाला आयोजना गरिएको हो ।

समापन समारोहलाई सम्बोधन गर्दै बागमती प्रदेश आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयका सचिव महेश भट्टराईले आधुनिक प्रविधिको उच्चतम प्रयोगसँगै पत्रकारिताको आधारभूत गुणस्तर र विश्वसनीयता कायम राख्नु आजको मुख्य चुनौती र आवश्यकता रहेको बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेशका सञ्चार रजिस्ट्रार रेवती सापकोटाले प्रविधिलाई पत्रकारको विकल्पका रूपमा नभई एक सशक्त सहयोगी औजारका रूपमा लिनुपर्नेमा जोड दिनुभयो । “एआईले पत्रकारलाई चलाउने होइन, बरु पत्रकारले एआईलाई आफ्नो विवेकले चलाउन सक्नुपर्छ,” उहाँले भन्नुभयो, “प्रविधिको सदुपयोगसँगै यसको दुरुपयोगबाट निम्तिन सक्ने जोखिम र भ्रामक सूचनाप्रति सञ्चारकर्मीहरू सधैँ सचेत रहनुपर्छ ।” तीन दिनसम्म चलेको कार्यशालामा गोरखापत्र दैनिकका सह–सम्पादक अजय शर्मा र ‘अडियो भिजुअल इन्डलेस सोलुसन’ का अध्यक्ष एवं वरिष्ठ दृश्य सम्पादक शिव पुरीले मुख्य प्रशिक्षकका रूपमा सहजीकरण गर्नुभएको थियो ।

प्रशिक्षकद्वयले एआईको व्यावहारिक प्रयोग, सामग्री निर्माण र नीतिगत आचारसंहिताका विविध पक्षमा प्रशिक्षण दिनुभएको थियो । तीन दिनसम्म चलेको उक्त कार्यशालामा सहभागी पत्रकारहरूलाई प्रविधिको आधारभूत ज्ञानदेखि व्यावसायिक सामग्री उत्पादन र तथ्य जाँचसम्मका विभिन्न चरणमा व्यवहारिक प्रशिक्षण प्रदान गरिएको थियो । कार्यशालाको पहिलो दिन एआई प्रविधि र वर्तमान डिजिटल टूल्सहरूको परिचयसँगै एआईबाट सही र सटीक नतिजा निकाल्न प्रभावकारी ‘प्रम्प्ट’ लेख्ने कलाबारे प्रशिक्षण दिइएको थियो ।

दोस्रो दिन प्रम्प्टको सहायताले तथ्यमा आधारित समाचार लेखन, बुलेटिन तयारी र रिपोर्टिङमा हुने प्राविधिक सहजीकरणबारे सिकाइएको थियो । सोही दिन भ्वाइसओभर, अडियो प्रशोधन, सङ्गीत तथा प्रोमो निर्माणसँगै ‘फ्याक्ट–चेकिङ’ र ‘डिपफेक’ ) पहिचान गर्ने व्यावहारिक अभ्याससमेत गराइएको थियो ।

त्यस्तै, कार्यशालाको तेस्रो तथा अन्तिम दिन दृश्य सामग्री निर्माणका लागि आवश्यक क्यामेरा सञ्चालन, फ्रेम, रेजोलुसन र ध्वनि (साउन्ड) समायोजनबारे सिकाइएको थियो । साथै, आधुनिक एआई टूल्सहरूको प्रयोग गरी फोटो तथा भिडियो सम्पादन (एडिटिङ) गर्ने र एआई निर्मित दृश्य–तस्बिरको प्रमाणीकरण गर्ने सीपबारे अभ्यास गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
युवराज पारस लड्केश्व ...

काभ्रे । युवराज पारस शाह आज दिउँसो काभ्रे जिल्लाको पनौतीस्थित प्रसिद्ध श्री लड्केश्वर महादेव मन्दिरम ...

" थ्रीलिङ म्याचमा चि ...

काठमाडौँ – सुदूरपश्चिम रोयल्सले लगातार तेस्रो पटक नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनलमा स्थान ...

सांसद महताद्वारा कञ ...

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ का सांसद ज्ञानेन्द्रसिंह महताले आफ्नो निर्वाचन क्षेत ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved