धनगढी । कैलाली र कञ्चनपुरका चार नगरमा लागु भएको क्षेत्रिय शहरी विकास आयोजनाको काम अझै अगाडी बढ्न सकेको छैन्। कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका तथा कञ्चनपुरको भीमदत्त नगरपालिका र शुँक्लाफाटा नगरपालिकामा लागु भएको क्षेत्रिय सहरी विकास आयोजनाको कामले गति लिन नसकेको हो।
आयोजना अन्तरगत चार नगरमा निर्माण हुने भनिएको फोहोरमैला प्रशोधन केन्द्रको काम अगाडी नबढेको हो। धनगढी र भीमदत्त नगरपालिकामा भने जग्गा प्राप्तीकै प्रक्रिया सुरु नहुँदा अन्यौलता देखिएको छ। एसियाली विकास बैँकको क्रण सहयोगमा लागु भएको आयोजनाको अवधी सकिन ३० महिना मात्र बाँकी रहेका बेला फोहोरमैला प्रशोधन केन्द्र निर्माणको काम अगाडी नबढेको हो।
आयोजना लागु भएको साढे दुई वर्षमा चारवटै नगरमा निर्माण हुने सडक बल्ल ठेक्का सम्झौताको चरणमा गएपनि फोहोरमैला प्रशोधन केन्द्रको कामले गति लिन सकेको छैन । गोदावरी र शुक्लाफाँटा नगरपालिकामा जग्गाको टुङ्गो लागेर प्राप्तीको प्रक्रिया अगाडी बढेको भएपनि धनगढी उपमहानगरपालिका र भीमदत्त नगरपालिकाले अझै टुङ्गो लगाउन नसकेको परामर्शदाता कम्पनी विडिएका निर्देशक अनिल नेपालले बताए।
उनले भने, दुवै नगरमा जग्गाको टुङ्गा लाग्ने बितिकै डिजाईन स्टमेटको काम अगाडी बढ्ने बताएपनि ढिलाई भइरहेको हो। एडिबीले फोहोरमैला प्रशोधन केन्द्रलाई मुख्य शर्त मानेको भएपनि धनगढी र भीमदत्त नगरपालिकाले आयोजना लागु भएको साढे दुई वर्ष सम्म जग्गाकै टुङ्गो लगाउन नसक्दा अन्यौलता थपिएको छ।
भीमदत्त नगरपालिकाले यसअघि जग्गा हेरिएको वडा नम्बर ९ सहित केही प्रस्तावित स्थानको विषयमा छलफल भईरहेको दावी गरेपनि अझै अन्तिम रुप लिन सकेको छैन्। भीमदत्त नगरपालिकाका इन्जिनीयर हिमालय सिह ऐरले फोहोरमैला प्रशोधन केन्द्रका लागि जग्गा छनौटका लागि छलफलकै चरणमा रहेको बताए।
उनले अहिले कोरोना भाईरसको महामारीपछि जारी लकडाउनका कारण थप छलफल गर्न नसकिएकाले छिट्टै अन्तिम रुप पाउने जनाए। धनगढी उपमहानगरपालिकाले फोहोरमैला प्रशोधन केन्द्रका लागि वडा नम्बर १ मा जग्गा हेरेको भएपनि विवाद हुँदा टुङ्गो लाग्न सकेको छैन्। स्थानीयको विरोधपछि उपमहानगरपालिकाले विकल्पको रुपमा अर्को स्थानमा जग्गा छनौटका लागि पहल गरेको छैन्।
तर अहिले फोहोरमैला प्रशोधन केन्द्रका लागि सरकारी जग्गा उपलब्ध गराउन माग गर्दै नेपाल सरकारसँग अनुरोध गरिएको उप-महानगरपालिकाका ईन्जिनीयर द्धिजराज भट्टले बताए। उनले लकडाउनपछि अन्य प्रक्रिया अगाडी बढाईने बताए।
एसियाली बिकास बैँकको क्रण सहयोगमा कैलाली र कञ्चनपुरका चार वटै नगरमा लागु गरेको क्षेत्रिय सहरी विकास आयोजना अन्तरगत फोहोरमैला प्रशोधन केन्द्र, सडक लगायतका योजनामा झण्डै ११ अर्ब लगानी रहेको छ।
तर आयोजनाको मुख्य शर्त मानेको फोहोरमैला व्यवस्थापन केन्द्रकै लागि स्थानीय तहहरुले जग्गा प्राप्ती गर्न नसक्दा अन्य योजना समेत प्रभावित हुने आशंका गरिएको छ। फोहोरमैला प्रशोधन केन्द्रका बारेमा स्थानीयलाई बुझाउन नसक्दा समस्या भईरहेको देखिएको छ।
दिनेश खबर
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved