काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्योल र अलमलको अवस्थामा रहेको भन्दै राज्य प्रणाली सञ्चालनमा गम्भीर प्रश्न उठाउनुभएको छ।
विजया दशमी २०८३ को शुभ अवसरमा देशवासीका नाममा शुभकामना सन्देश जारी गर्दै उहाँले 'हाम्रो देश किन यतिखेर अस्तव्यस्त स्थितिमा छ?' भन्ने प्रश्न गर्दै प्रजातान्त्रिक विधि र प्रक्रियालाई सुदृढ बनाउँदै भूराजनीतिक स्थितिमा राष्ट्रियता र मौलिक मूल्यलाई मजबुत बनाउनुपर्ने आवश्यकता औंल्याउनुभएको छ।
हालैका दिनहरूमा भोटेकोशी तथा बूढीगण्डकी क्षेत्रमा आएको भीषण बाढी र अविरल वर्षाका कारण पुगेको अपार जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सन्देशमा विपद्बाट प्रभावित नागरिकहरूको शीघ्र पुनर्स्थापना र क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणलाई प्रमुख प्राथमिकताका साथ अघि बढाउन आग्रह गरिएको छ। विपद्पछि क्षति पुगेका भौतिक संरचनाको पुनरुत्थान गर्दा बाह्य सहयोग लिनुपरे पनि देशको स्वाभिमान, स्थानीय परम्परा र कूटनीतिक चातुर्यता जोगाउनुपर्ने उहाँको भनाइ छ।
नेपाल केवल भूगोल मात्र नभएर साझा इतिहास, आस्था, संस्कृति र पहिचान भएको स्पष्ट पार्दै कठिन समयमा एक-अर्काको सुख-दुःखमा साथ दिनु र राष्ट्रिय हितलाई व्यक्तिगत स्वार्थभन्दा माथि राख्नु नै साँचो देशभक्ति भएको सन्देशमा उल्लेख छ। राज्य सञ्चालनमा जोडिएका नवपुस्ताले देशवासीमा नयाँ आशा र हौसला थप्ने अभिलाषा व्यक्त गर्दै विभाजित नभई एकताबद्ध, परनिर्भर नभई आत्मनिर्भर र सबल नेपाल निर्माण गर्ने सोच सबैमा जाग्रत होस् भन्ने कामना गरिएको छ।
सत्यको विजयको प्रतीक मानिने दशैँले सबैलाई सत्य, न्याय र शक्तिको मार्गमा हिँड्ने प्रेरणा प्रदान गरोस् भन्ने शुभेच्छासहित यो शुभकामना सन्देश निर्मल निवासस्थित संवाद सचिवालयबाट जारी गरिएको हो।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved