अनिता घिमिरे , पोखरा । कोरोनाले थलिएको अर्थतन्त्रलाई उकास्न अहिले ३ वटै तहसँग गतिलो उपाय छैन । केन्द्र सरकारले १५ जेठमा ल्याएको बजेट पोहोरको भन्दा घटेर आयो । सोमबार ७ वटै प्रदेशले बजेट पेस गर्दैछन् । प्रदेशमा आम्दानीको स्रोत नहुने र केन्द्रकै भर पर्ने हुनाले प्रदेश सरकारले मन फुकाएर बजेट ल्याउने अवस्था भने छैन ।
गण्डकी सरकारले पोहोर चालु आर्थिक वर्षका लागि ३२ अर्ब १३ करोड ४७ लाख रुपैयाँको बजेट ल्याएको थियो । यो वर्ष पनि ३२ अर्ब भित्रकै बजेट ल्याउने बताइए पनि ३४ देखि ३५ अर्बसम्मको बजेट आउने भएको छ । आर्थिक वर्ष २०७५,७६ मा २४ अर्ब २ करोडको बजेट प्रदेश सरकारले ल्याएको थियो ।
गण्डकी प्रदेशले स्वास्थ्य र कृषिका प्राथमिकतालाई प्राथमिकतामा राखेर बजेट ल्याउँदैछ । कार्यक्रममा स्वास्थ्यले प्राथमिकता पाउने भए पनि भौतिक पूर्वाधारमा नै धेरै बजेट राखिएको छ । पूर्वाधारमा नयाँ भन्दा पनि क्रमागत योजनाले निरन्तरता पाउने भएका छन् । पोहोरबाट सुरु भएको निर्वाचन क्षेत्र विकास कार्यक्रमले यो वर्ष पनि निरन्तरता पाउने भएको छ ।
स्वास्थ्य क्षेत्रमा पूर्वाधार र जनशक्ति निकै कम भएको कोरोनाले महसुस गराएसँगै यो वर्ष सामाजिक विकास मन्त्रालयको बजेट स्वभाविक रुपमा बढेर आउनेभएको छ । शिक्षामा पनि बजेट थप भएर आउने अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।
विदेशबाट युवाहरु फर्केर आउने र उनीहरुलाई टिकाइ राख्नका लागि कृषिमा नयाँ खालका योजना ल्याइने भएको छ । अनुदानलाई केही निरुत्साहित गर्ने भनिए पनि मुख्यमन्त्री वातावरणमैत्री कृषि कार्यक्रमले निरन्तरता पाउने भएको छ । पर्यटन क्षेत्रको बजेट कटौती गर्दै उद्योग क्षेत्रमा बजेट बढाइएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved