काठमाडौं । भारत र चीनबीचको विवादित सीमामा ४५ वर्षपछि कसैको ज्यान जाने गरी पहिलो पटक झडप भएको छ। पूर्वी लद्दाखको गलवान घाटीमा सोमबार र मंगलबार दुवै देशका सेनाबीच भएको झडपमा भारतीय एक अधिकारी र १९ जना सैनिक जवानको मृत्यु भएको छ।
भारतीय सेनाले मंगलबार राति दिएको आधिकारिक बयानमा भारत र चीनका सेना गलवान इलाकाबाट पछाडि हटेका उल्लेख गरिएको छ। झडप र गतिरोधयुक्त क्षेत्रमा ड्युटीमा खटिएका १७ जना सैनिक गम्भीर रूपमा घाइते भइसकेका थिए। शून्य डिग्रीभन्दा कम तापक्रम र अधिक उचाइमा रहेको उक्त क्षेत्रका घाइते ती १७ जना सबैको ज्यान गएको थियो। योभन्दा पहिले नै भारतीय सेनाले दिएको बयानमा झडपमा एक सैन्य अधिकारी र दुई जना जवानहरूको ज्यान गएको बताइएको थियो। यसरी सीमा विवादकै कारण भएको झडपमा जम्मा २० जना भारतीय सैनिकले ज्यान गुमाएका छन्।
बयानमा भारतीय सेना देशको अखण्डताको रक्षा गर्न सधैं प्रतिबद्ध रहेको जनाइएको छ। त्यसैगरी तनाव कम गर्ने विषयमा दुवै देशका वरिष्ठ सैन्य अधिकारीबीच वार्ता भइरहेको पनि बताइएको छ।
समाचार एजेन्सी पीटीआईका अनुसार पूर्वी लद्दाखमा भारत र चीनको सीमा अर्थात् लाइन अफ एक्चुअल कन्ट्रोलमा दुवै देशका बीच भएको हिंस्रक झडपपछि रक्षामन्त्री राजनाथ सिंहले मंगलबार सेना प्रमुखसँग समीक्षा बैठक बसे। बैठकमा विदेशी मन्त्री एस जयशंकर पनि उपस्थित थिए।
चीनको समाचार एजेन्सी ‘सिन्ह्वा’का अनुसार पिपुल्स लिबरेसन आर्मी (पीएलए) का पश्चिमी थिएटर कमान्डका प्रवक्ता चांग सुइलीले दिएका बयान पीएलएको आधिकारिक विबो एकाउन्टमा पोस्ट गरिएको छ। उक्त बयानमा चांगले विवाद समाधान गर्न भारतले आफ्नो सेनालाई रोकी वार्ताको माध्यम अपनाउनुपर्ने बताएका छन्।
४५ सालपछि सीमामा गयो ज्यान
गत महिनाको सुरुआतदेखि नै लद्दाखमा दुवै देशका सेनाबीच विवाद चर्किएको थियो। गत महिना नै दुवै देशका सैनिकबीच पूर्वी लद्दाखको पंगोग र सिक्किमको नाकुलामा झडप पनि भएको थियो। तनाव बढ्दै गएपछि सीमामा दुवै देशका सेना अधिक संख्यामा तैनाथ थिए।
योभन्दा पहिले ४५ वर्ष अगाडि सन् १९७५ मा भारत-चीन सीमामा सैनिकको मृत्यृ भएको थियो। त्यतिबेला भारतीय सेनाको गस्ती दलमा अरुणाञ्चल प्रदेश एलएसीमा चिनियाँ सेनाले हमला गरेका थिए। त्यसैगरी सन् १९६७ मा पनि नाथुला सीमामा दुवै देशका सेनाबीच झडप भएको थियो।
भारतीय सञ्चार माध्यममा चिनियाँ सैनिक पक्षमा पनि क्षति भएको बताइए पनि हालसम्म त्यसको कुनै पुष्टि भएको छैन। यस विषयमा चीनले पनि अहिलेसम्म केही बोलेको छैन। यसको असर दुवै देशका द्विपक्षीय सम्बन्धमा पर्ने बताइएको छ। सन् १९९३ मा दुवै देशबीच सीमामा शान्ति कायम राख्न भएका सम्झौतामा पनि असर पर्ने मानिएको छ।
आरोप–प्रत्यारोप
घटनापछि भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले पत्रकारहरूलाई जवाफ दिँदै भने, ‘६ जुनमा सिनियर कमान्डरहरूबीचको बैठक साह्रै राम्रो थियो। त्यसमा तनाव कम गर्ने विषयमा सहमति जुटेको थियो। हामीलाई विश्वास थियो कि सबै समस्या सजिलै समाधान भइहाल्छन्। तर, चिनियाँ पक्ष यो सहमतिबाट पछि हट्यो। उच्चस्तरमा बनेको सहमति सही तरिकाले पालना गरिएको भए यो झडप हुने थिएन।’
बुधबार भारतका विदेशमन्त्री एस जयशंकर र चीनका विदेशमन्त्री वांग यीबीच भएको टेलिफोन वार्तामा सीमामा शान्ति स्थापना गर्ने विषयमा सहमति जनाउँदै कुनै पनि पक्षबाट आक्रमण नहुनेमा आश्वस्त पारेका छन्।
२० सैनिकको मृत्यु भएको विषयमा भारतका प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता राहुल गान्धीले ट्विट गर्दै लेखेका छन्, ‘सेनाका जुन अधिकारी र जवानहरूले हाम्रो देशका लागि आफ्नो ज्यान गुमाएका छन्। उनीहरूका लागि म कति दुःखी छु यसलाई शब्दमा व्यक्त गर्न सकिँदैन। उनीहरूका सबै आफन्तप्रति हार्दिक संवेदना प्रकट गर्दछु। यो अप्ठ्यारो समयमा हामी तपाईंहरूसँगै छौं।’
मोदी पाँच पटक गए चीन
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सत्तामा आएपछि चीनसँगको सम्बन्ध सुधारमा लागेका थिए। सन् २०१४ मा मोदी सत्तामा आएपछि चिनियाँ राष्ट्रपति सी जिङपिङसँग कम्तीमा १८ पटक भेटिसकेका छन्। प्रधानमन्त्रीको हैसियतमा मोदी पाँच पटक चीन गइसकेका छन्। ७० वर्षीय लामो इतिहासमा सबैभन्दा बढी चीन गएका प्रधानमन्त्री मोदी नै हुन्। सन् २०१९ मा पनि दोस्रो पटक प्रधानमन्त्री बनेपछि उनले पिङसँग भेट गरेका थिए।
चीनसँग ९० को दशकमा सम्बन्धको गाँठो सन् १९८८ मा तत्कालीन प्रधानमन्त्री राजीव गान्धीले गाँसेका थिए। सन् १९९३ मा भारतका तत्कालीन प्रधानमन्त्री पीवी नरसिंहा राव चीन भ्रमण गएका थिए। त्यहीबेला उनले ‘मेन्टिनेन्स अफ पिस एन्ड ट्रैक्विलिटी’ सम्झौतामा हस्ताक्षर गरेका थिए। उक्त सम्झौता एलएसीमा शान्ति कायम राख्नका लागि गरिएको थियो।
हिंसाप्रति संयुक्त राष्ट्रसंघको चासो
भारत र चीनबीचको सीमामा भएको हिंसाप्रति संयुक्त राष्ट्रसंघले चासो व्यक्त गरेको छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले उक्त विषयमा चासो देखाएका हुन्। भारत र चीनबीचको सीमामा भएको विवाद र सैनिक झडपमा परी २० जना भारतीय सैनिकको ज्यान गएको थियो। साथै उनले उक्त विषयमा वार्ताको माध्यमबाट विवादको समाधान खोज्नका लागि पनि आह्वान गरेका छन्।
यो सामाग्री अन्नपुर्ण पोष्ट बाट साभार गरिएको हो ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved