काठमाडौं । लेस्टर सिटीले शीर्ष चार तथा आउँदो सिजन च्याम्पियन्स लिगको स्थान गुमाउने जोखिम बढ्दै गएको छ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा लेस्टर सिटी बोर्नमाउथसँग पराजित गरेको छ ।
घरेलु मैदानमा भएको खेलमा १० खेलाडीमा सीमित भएको लेस्टर सिटीलाई ४–१ ले पराजित गरेर बोर्नमाउथले रेलिगेशनबाट जोगिने सम्भावना कायम राखेको छ । २३ औँ मिनेटमा जेमी भर्डीको गोलबाट लिएको अग्रता लेस्टर सिटीले जोगाउन सकेन । पछि परेको बोर्नमाउथले दोस्रो हाफमा तीन गोल गर्न सफल भयो भने एक गोल उपहारमा पायो । ६६ औँ मिनेटमा पाएको पेनाल्टी स्टानिस्लासले बोर्नमाउथका लागि बराबरी गोल गरे ।
६७ औँ मिनेटमा सोयुन्कु सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि लेस्टर सिटी १० खेलाडीमा सीमित भयो । बोर्नमाउथका लागि सोलान्केले ६७ र ८७ औँ मिनेटमा गरी दुई गोल गरे । लेस्टर सिटीका इभान्सले ८३ औँ मिनेटमा आत्मघाती गोल गरेकाले बोर्नमाउथ ४–१ ले विजयी भयो । जितपछि १८ औँ स्थानको बोर्नमाउथको ३५ खेलबाट ३१ अंक भएको छ । उ १७ औँ स्थानको वाट्फोर्ड भन्दा मात्रै तीन अंकले पछि रहेको छ ।
पराजित भएको लेस्टर सिटी चौथो स्थानमा छ र उसको ३५ खेलबाट ५९ अंक रहेको छ । यस्तै लिग अन्तर्गत आइतबार राति नै भएको खेलमा जित निकालेर एस्टन भिल्लाले पनि रेलिगेशनबाट जोगिने आश जीवित राखेको छ । घरेलु मैदानमा भएको खेलमा एस्टन भिल्लाले क्रिष्टल प्यालेसलाई २–० ले पराजित गरेको हो । उसका लागि दुवै गोल ट्रेजेगुएटले गरेका हुन् ।
इन्जुरी समयको केही मिनेट क्रिष्टल प्यालेस १० खेलाडीमा सीमित भयो । क्रिष्टियन बेनटेक सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए । जितपछि १९ औँ स्थानको एस्टन भिल्लाको ३० अंक भएको छ । क्रिष्टल प्यालेस ४२ अंकसहित १४ औँ स्थानमा छ ।
अर्को खेलमा वुल्भ्सले एभर्टनलाई ३–० ले पराजित गरेको छ । जित निकालेको वुल्भ्स ५५ अंकसहित छैटौँ स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved