झापा। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जिल्ला समिति झापाले सरकारलाई दिएको समर्थन फिर्ता लिन पार्टीको केन्द्रीय समितिलाई आग्रह गरेको छ ।
मंगलबार बसेको राप्रपा झापाको विस्तारित बैठकले पछिल्लो समय नेकपा सम्बद्ध जनप्रतिनिधिहरुबाट राप्रपाबाट निर्वाचित जनप्रतिनिधिमाथि बहुमतका आडमा दुर्व्यवहार हुन थालेको भन्दै त्यसको विरोधस्वरुप समर्थन फिर्ता लिन केन्द्रलाई अनुरोध गर्ने निर्णय गरेको हो ।
बैठकले गरेका निर्णयबारे जानकारी दिँदै राप्रपा नेता राजेन्द्र लिङदेनले भने, ‘ असार १० गते हल्दिवारी गाउँपालिकाको गाउँसभामा जे घट्ना भयो त्यसले जनताको प्रत्यक्ष बहुमत पाएर निर्वाचित भएका अध्यक्षको मात्र अपमान भएको छैन, जिताउने जनताकै अपमान भएको छ ,’ उनले भने,’ प्राविधिक बहुमतको बलमा नेकपा पक्षीय प्रतिनिधिहरूबाट राप्रपाबाट निर्वाचित अध्यक्ष रविन्द्र लिङ्देनमाथि भएको दुर्व्यवहार र गैरकानूनी क्रियाकलापलाई गम्भीरतापूर्वक लिँदै राप्रपाले नेकपाको सरकारलाई दिएको समर्थन फिर्ता लिन केन्द्रलाई अनुरोध गर्ने निर्णय भएको छ ।’
यसबाहेक बैठकले सत्तापक्षको शक्तिको आडमा सुरक्षा निकाय दुरुपयोग हुने सक्ने खतरा औंल्याउँदै सत्तापक्षको हितरक्षाका लागि प्रशासन संयन्त्रको दुरूपयोग गरेर परिस्थिति नबिगार्न प्रहरी प्रशासनलाई समेत आग्रह गरेको छ ।
गाउँपालिका स्थानीय सरकार भएकाले जनताका धेरै भावना उ सँग जोडिएको भन्दै दलीय आडम्बले भन्दा पनि जनताको भावनालाई केन्द्रमा राखेर काम गर्नु पर्नेमा राप्रपा झापाको जोड रहेको लिङदेनले बताए ।
गाउँसभाको बैठकमा गाउँपालिकाका अध्यक्ष नभएकै अवस्थामा बजेट पारित गर्ने विषयले पनि गलत नजिर बसाउन सक्ने भन्दै राप्रपा झापाले हल्दिवारीका जनताको मतको अपमान हुने र गलत नजिर बस्ने गरी कुनै काम हुन नदिने निष्कर्ष पनि निकालेको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved