काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य नविन शाहीले पार्टी नेताको यस्तै कार्यशैली र व्यवहारले राप्रपा वैकल्पिक शक्ति बन्न नसक्ने खतरा रहेको बताएका छन् ।
उनले पार्टीलाई एकताबद्ध बनाएर जान सकेमात्र जनताले पत्याउने पनि बताए । ‘हाम्रो पार्टीप्रति जनताको राम्रो समर्थन छ, सबैले पत्याएका पनि छन् तर नेतृत्वमा देखिएको संकटले गर्दा सधैं यस्तै प्रश्न उठ्ने गरेको छ’ उनले भने ‘पार्टी एकता भएको भनेर मात्र भएन कहिलेकाँही व्यवहारमा समस्या देखिएको छ त्यसैले दिनैपिच्छे पार्टी कमजोर भएजस्तो लाग्छ ।
’ पशुपति शमशेर राणा नेतृत्वको राप्रपा संयुक्तको केन्द्रीय कार्य सम्पादन समिति सदस्य रहेका उनले सबै राजनीतिक पार्टीले देश र जनताको नाम बेच्ने गरेको भए पनि व्यवहार त्यसको ठीक उल्टो भएको आरोप लगाए । ‘कुनै समयमा राप्रपाले सरकार बनाएको थियो त्यो इतिहास ताजै छ त्यसलाई जोगाउन पनि पार्टीभित्रका आन्तरिक मतभेदलाई बाहिर ल्याएर सडकमा देखाउनु हुँदैन’ उनले भने ‘ राप्रपामा अहिले भएका तीनजना अध्यक्षले आफूभन्दा ठूलो पार्टी हो भन्ने सम्झेर जाने हो भने पनि आगामी निर्वाचनमा राप्रपा निर्णायक शक्ति हुनेछ ।’
उनले राप्रपाको टुटफुटको इतिहास लामो भएकाले अब हामी पुरानो बाटोमा जाने छैनौं भनेर नेताहरुले कार्यकर्ता र जनतालाई विश्वस्त दिलाउनुपर्ने बताए । राप्रपा र राप्रपा संयुक्तबीच गत फागुन २० गते फेरि एकता भएको थियो , त्यसको केही अघि राणा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) र प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा राष्ट्रवादी एकीकृत भएर राप्रपा संयुक्त बनेको थियो । एकताका बेला राप्रपाका अध्यक्ष कमल थापाले निकै भावुक बनेर गिताको पुस्तक छोएर अब कहिल्यै पनि पार्टी नफुटाउने र नफुट्ने स्पष्ट पारेका थिए तर त्यो पनि केवल देखावटीजस्तो मात्र भएको छ । थापा सरकारमा जान भनेपछि मरिहत्ते गर्ने एक नेतामध्ये नै पर्छन् । उनी मौका पाउनसाथ उपप्रधानमन्त्री भएर गइहाल्छन् । पार्टीको लाइन र सिद्धान्त बिर्सेर सरकारमा रमाउन जाने थापाको निकै आलोचना भएको छ । उनी प्रतिनिधिसभाको यो निर्वाचनमा आफ्नै जिल्ला मकवानपुर १ बाट पराजित भए ।
पछिल्लो एकताको मर्म अनुसार पार्टी नचलेको र सहमतिमा गरिएका बुँदा अहिले नमानेकाले पनि पार्टीमा बिबाद चर्किएको छ । नयाँ पार्टी दर्ता गरिएको छैन तर राप्रपाको तेस्रो हैसियतमा अध्यक्ष रहेका कमल थापाले भनें नयाँ दर्ता गर्नु आवश्यक नरहेको प्रतिक्रिया दिन थालेपछि अर्को पक्ष आक्रोशित बनेको छ । आफूहरुको पार्टी र राप्रपाबीच एकता भएकाले नयाँ दर्ता हुनुपर्छ भन्ने त्यो पक्षको भनाई छ तर थापाले भने आफ्नो पुरानो पार्टीलाई मात्र अस्तित्वमा राखिरहन चाहेकाले एकताको मर्मलाई वेवास्ता गरेको आरोप छ ।
राजनीतिक सँगै सामाजिक पृष्ठभूमि पनि बनाएका नेता शाहीले पार्टीमा वैचारिक पक्ष कमजोर भएको हो कि भन्ने प्रश्न पनि उठ्ने गरेको स्पष्ट पारे । राजसंस्थासहितको हिन्दुराष्ट्रको लाइनमा पार्टी जान सके जनताको मत जित्न सक्नेमा उनी ढुक्क छन् । उनी पार्टीमा देखिएको चाकडी र चाप्लुसीको पनि खुलेरै विरोध गर्छन् । ‘पहिलो तहका नेतालाई दोस्रो तहका नेताले र अदृश्य शक्तिले बिगारेको छ’ उनले भने ‘ उनीहरु वास्तविक धरातल नै नबुझी सतही कुरा गरेर नेतालाई उचाल्छन् र मख्ख पार्दै स्वार्थसिद्ध गर्ने गर्छन्, यो यति कुरा पनि नबुझ्नु नै प्रमुख नेताहरुको कमजोरी हो ।’ उनले पार्टीमा खटेका र संगठनका लागि काम गरेकालाई अवसर नदिएकामा पनि चिन्तित छन् तर उनी पार्टी राम्रो हुन्छ भने आफू साधारण सदस्यमात्र रहेर पनि बस्न तयार भएको बताउँछन् । ‘मलाई पद होइन काम चाहिन्छ र त्यसैमा रमाउँछु’ भन्ने उनी नेकपाको वर्तमान सरकार पूरै असफल भएको ठोकुवा गर्छन् । त्यतिमात्र होइन उनी प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेको नेपाली कांग्रेसले पनि यो बेला आफ्नो भूमिका खेल्न नसकेको दावी गर्छन् । यी दुवै दल असफल भएपछि उनीहरुको नेतृत्व गर्दै राप्रपाले आफूलाई स्थापित गरेको भए आगामी दिनमा फाइदा हुने स्पष्ट पार्छन् ।
उनले राप्रपाका नेताहरुले देश र जनताको नाम लिँदै नेपाली माटो सुहाउँदो राजनीति गरेको भने पनि कम्युनिष्टको लाइनमा गएको र जनतालाई पूर्ण रुपमा वेवास्ता गर्दै आफ्नो लागिमात्र राजनीति गरेको पनि बताउँछन् ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved