दैजी छेला औद्योगिक क्षेत्र बन्ने भयो

  • जेठ १७, २०७८
  • कालापानी मिडिया
alt


कञ्चनपुर । बेदकोट नगरपालिका २ स्थित दैजी छेला औद्योगिक क्षेत्रको कार्य अगाडी बढाइने भएको छ।

अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले आर्थिक वर्ष ०७८/७९ को बजेट वक्तव्यमा आगामी दुई वर्षभित्रै औद्योगिक क्षेत्रको पूर्वाधार निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन्‌ । विगतमा बजेट सुनिश्चितता नहुँदा औद्योगिक क्षेत्रको कार्यले गति लिन सकेको थिएन।

वि.सं. २०५२ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीका पालामा दैजी छेलालाई औद्योगिक क्षेत्रका रूपमा प्रस्तावित गरिएको थियो। औद्योगिक क्षेत्र प्रस्तावित गरिएपछि उद्योग वाणिज्य संघका पदाधिकारी लगायत यस क्षेत्रका व्यवसायी, राजनीतिज्ञले पटक पटक कार्य अगाडी बढाउनका लागि पहल गरेपनि कार्य अघि बढाउन सकिएको थिएन।

वन मन्त्रालयले वर्षौंसम्म औद्योगिक क्षेत्र स्थापना हुने क्षेत्रको जग्गाको भोगाधिकार नदिँदा निर्माणकार्य अन्योलमा परेको थियो। हाल औद्योगिक क्षेत्र स्थापना हुने ठाउँको जग्गा सुनिश्चिततासहित वातावरणीय प्रभाव मूल्याङकन र लागत अनुमानका कार्य पूरा भएको छ।

गत फागुन १० गते प्रधानमन्त्री केपी शर्मा ओलीले औद्योगिक क्षेत्रको शिलान्यास गरेका थिए। सो कार्यक्रममा बोल्दै उनले बजेटको व्यवस्था गरी काम अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका थिए।

संविधान सभाका पूर्व सभासद कृपाराम रानाले औद्योगिक क्षेत्रमा पूर्वाधार निर्माण कार्य अगाडी बढाउन बजेटको व्यवस्था भैसकेकाले अब विगतको जस्तो निर्माणकार्यमा ढिलाई गरिन नहुने बताए। बजेट कार्यान्वयनको पाटोलाई छिटो/छरितो बनाई पूर्वाधार निर्माणलाई गति दिनुपर्ने उनले बताएका छन्‌। वर्षौंदेखि थाँती रहेको कार्य बजेट विनियोजनसँगै अगाडी बढ्ने भएपछि यस क्षेत्रका बासिन्दामा उत्साह थपिएको उनको भनाई रहेको छ।

‘औद्योगिक क्षेत्रमा युवाहरूले रोजगारी पाउँछन्‌,’ उनले भने, ‘स्थानीयस्तरका कच्चा पदार्थमा आधारित उद्योगहरू सञ्चालन हुन्छन्‌, जसबाट खेर गैरहेको प्राकृतिक साधन श्रोतको सदुपयोग हुन्छ। स्थानीयस्तरमै उत्पादन हुने बस्तुहरूको मूल्य समेत सस्तो हुन्छ।’

औद्योगिक क्षेत्रमा स्थापना हुने उद्योगका लागि मास्टर प्लानको कार्य पूरा भएको छ। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले उद्योगलाई चाहिने विद्युत र सडक पूर्वाधार जग्गा लगायत उपलब्ध गराउनेछ।

औद्योगिक क्षेत्रका साविकमा पूर्वतर्फ मुक्त कमैया बस्ती, पश्चिमा दैजी जोगबुढा सडक, उत्तरमा वन क्षेत्र र दक्षिणमा चाँदनीफाँटा बस्तीलाई चार किल्ला तोकी ९०० विघा जग्गा व्यवस्था गरिएको छ।

हाल २४० दशमलव ३४ हेक्टर जग्गामा डीपीआर सम्पन्न गरी स्वीकृत भैसकेको छ। औद्योगिक क्षेत्रको कुल लागत रु नौ अर्ब रहेको छ। साना उद्योगका लागि २३ वटा प्लट, मझौला उद्योगका लागि ४४ प्लट र ठूला उद्योगका लागि ३३ वटा प्लट छुट्टयाइएको छ।

विस्तृत अध्ययन प्रतिवेदन अनुसार उद्योगहरूको क्लस्टर बमोजिम प्लट छुटयाइएको छ। स्थानीय कच्चा पदार्थमा आधारिक उद्योगलाई विशेष ग्राह्यता दिइने बताइएको छ। औद्योगिक क्षेत्रभित्र उद्योग दर्ता भन्सार तथा कर कार्यालय स्थापना गर्न मिल्ने गरी पूर्वाधार डिजाइन गरिएको छ।

औद्योगिक क्षेत्रमा अनुमानित २२ हजार जनालाई रोजगारी दिने लक्ष्य राखिएको छ। पूर्वाधार निर्माणकार्य दुई वर्षभित्र सम्पन्न गरी उद्योगहरू सञ्चालनमा ल्याउने र पाँच वर्षभित्र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले सम्पूर्ण पूर्वाधार निर्माणकार्य पूरा गर्ने लक्ष्य लिएको छ।

झापाको दमक, मकवानपुरको मयुरधाप, रूपन्देहीको मोतीपुर, बाँकेको नौबस्ता, कैलालीको लम्की र कञ्चनपुरको दैजीमा अगामी दुई वर्षभित्रै औद्योगिक क्षेत्रको पूर्वाधार निर्माण सम्पन्न गरिने बजेट वक्तव्यमा जनाइएको हो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

राप्रपा अध्यक्ष लिङद ...

कञ्चनपुर । राष्ट्रिय प्रजातन्त्र पाटीका अध्यक्ष एव पुर्वमन्त्री राजेन्द्र लिङदेन कञ्चनपुर आएका छन । ...

गरिब जनताको साहारा ब ...

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माको पहलमा सर्लाहीका एक गरिब परिवारको निःशुल्क उपचार ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved