एजेन्सी । अफगानी विद्रोही संगठन तालिबानले चीनलाई आफूहरूले मित्रका रूपमा लिएको भन्दै अफगानिस्तान पुनःनिर्माणबारे कुराकानी हुने बताएका छन्। साथै, चीनको चरमपन्थी संगठन उहिगुरलाई नसघाउने भरोसा पनि दिलाउन खोजेका छन्।
तालिबानका प्रवक्ता सुहिल शाहीनले अफगानिस्तान पुनस्निर्माणबारे चीनसँग छिट्टै कुराकानी हुने बताएका छन्।
अफगानिस्तानमा यतिखेर तालिबानको प्रभाव लगातार बढिरहेको छ। अर्कातर्फ, तालिबानका नेताहरूले रूस र ईरानलगायत अलग–अलग देशहरूसँग सम्पर्क पनि गरिरहेका छन्।
तालिबानको बढ्दो प्रभावलाई चीन, पाकिस्तान र भारतले गम्भीरतापूर्वक लिएका छन्। चीनले गत साता त्यहाँबाट आफ्ना २१० नागरिकलाई उद्दार गरेको थियो।
अफगानिस्तानसँग जोडिएको जिन्जियाङ प्रान्तमा विद्रोहरत उहिगुर मुसलमानलाई सघाउनसक्ने आशंकाबीच चीनले ुआवश्यक तयारीु गरेको खबरहरू बाहिरिएपछि तालिबानले चीनसँग मित्रवत व्यवहारमा जोड दिएको हो।
अफगानिस्तानमा तालिबानको उपस्थिति बलियो भएसँगै त्रस्त बनेको भारतप्रति भने सो संगठनले कुनै प्रतिक्रिया दिएको छैन। तालिबानको एक प्रमुख समूह हक्कानी नेटवर्कले अफगानिस्तानमा यसअघि पनि भारतीय लगानीका परियोजनाहरूलाई बारम्बार निशाना बनाउने गरेको छ।
भारतले सन् २००२ यता अफगानिस्तानमा करिब ३ अर्ब अमेरिकी डलर लगानी गरिसकेको छ। अफगानिस्तानमा तालिबानीको प्रभाव बढेमा मुस्लिम बाहुल्य विवादित भूमि कश्मीरको हालत निकै प्रभावित हुने भारतको आशंका छ।
तालिबानको एक तप्कामा पाकिस्तानको निकै ठूलो प्रभाव छ। भारत र पाकिस्तानबीच परम्परागत दुस्मनी छ।
अफगान तालिबानले विदेशी सेनाको फिर्तीसँगै त्यहाँ बढेको हिंसालाई पवित्र जिहाद भएको तर्क गरेको छ।
तालिबानका प्रवक्ता जबीउल्लाह मुजाहिदले देश कब्जा र राजद्रोहविरुद्ध एक पवित्र जिहाद छेडिएको बताएका हुन्। अफगानिस्तानमा करिब २० वर्षसम्म आक्रमण गरेपछि पश्चिमी देशका सेना यतिखेर फिर्ता भइरहेका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट अमेरिकी सैनिक फर्कने अन्तिम दिन सेप्टेम्बर ११ तोकेका छन्।
त्यहाँको विद्रोही तालिबानले यही मौकामा देशका भूभाग धमाधम कब्जा गरिरहेको छ। अहिले देशभर नै तालिबानको प्रभाव बढिरहेको छ। रूस पुगेको यो चरमपन्थी संगठनको प्रतिनिधिमण्डलले गत शुक्रबार देशको ८५ प्रतिशत भूभाग आफूहरूको नियन्त्रणमा रहेको दाबी गरेको थियो।
हिंसाकै माध्यमबाट तालिबान फेरि अफगानिस्तानको सत्तामा आउनसक्ने आशंकाबीच अमेरिकी राष्ट्रपति बाइडेनले आफूलाई तीन लाख बलिया अफगानी सुरक्षाबलमाथि भरोसा रहेको बताएका थिए। तर, तालिबानले बाइडेनको सो भनाइप्रति लक्षित गर्दै आफूहरूले चाहे दुई हप्तामै पूरै अफगानिस्तान नियन्त्रण गरी सम्हाल्नसक्ने दाबी गरेको छ।
तालिबानका प्रवक्ता मुजाहिदले टोलो न्यूजलाई दिएको एक अन्तरवार्तामा आफूहरूको प्राथमिकता छलफल नै भएको, तर आवश्यक परे युद्धको बाटो अपनाउन पनि कुनै हिच्किचाहट नभएको बताएका छन्।
उनले भनेका छन्, ुहामीसँग दुईवटा बाटो छन्। निःशर्त वार्ता हाम्रो प्राथमिकता र यसैको वकालत गर्छौं। आवश्यक परेमा र हामीले चुनौति सामना गर्नुपरेमा फेरि पनि हामीले युद्धको बाटो रोज्नुपर्छ। त्यसो भए १६ महिना पहिले झैँ हत्या र आक्रमण देख्नुपर्नेछ। युद्धको बाटो रोज्न हामी हिच्किचाउने छैनौँ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved