विराटनगर । नेकपा एमाले भित्रको विवाद तल्ला कमिटीहरुसम्म विस्तार हुनथालेको छ । विवादका कारण फुटको संघारमा पुगेको नेकपा एमालेमा विवादकै कारण आन्तरिक झडप, कुटाकुट, तोडफोडको अस्वस्थ अवस्था उत्पन्न भएको छ । बिहीबार मोरङको उर्लाबारी–८ स्थित एभरेष्ट फनपार्कमा भएको नगरस्तरीय विस्तारित बैठकमा एमाले कार्यकर्ताबीच आक्रमण र तोडफोडको अप्रिय घटना भएको छ । बिहीबार ओली समूहले नगरसमिति घोषणा गर्ने र सदस्यता नविकरण गर्ने भन्दै विस्तारित बैठक आयोजना गरेको थियो । एमाले मोरङ संयोजक ऋषिकेष पोखरेल बैठकमा जाने कार्यक्रम थियो ।
उक्त भेला सुरु हुनुभन्दा अगाडि नै कार्यकर्ताहरुबीच आपसमा झडप हुँदा बैठक विथोलिएको छ । सो समूहका उर्लाबारी नगर संयोजक उमाकान्त गौतमले विस्तारित बैठक आयोजना हुनुभन्दा अगाडि नै तोडफोड भएको बताए । ‘किन र कसले तोडफोड ग¥यो भन्ने विषयमा हामी अनुसन्धान गर्दैछौं,’ उनले भने ।
ओली समूहले भने माधव समूहका कार्यकर्ताले तोडफोड गरेको हुनसक्ने आशङ्का गरेका छन् । तर, माधव समूहका नगर संयोजक गंगा बास्तोलाले आफूलाई बैठकमा भएको तोडफोडको विषयमा जानकारी नभएको बताए । आफ्नो समूहका कोही पनि सदस्यलाई उक्त बैठकमा नजान यसअघि नै निर्देशन गरेको बताउँदै उनले आफूहरुको बद्नाम गर्नका लागि ओली समूहले सुनियोजित रुपमा हल्ला चलाएको हुनसक्ने बताए ।
स्रोतका अनुसार ओली समूहको कमिटिमा कसलाई राख्ने वा नराख्ने भन्ने विषयमा विवाद हुँदा आपसमा झडप भएको हो । सो बैठकमा संविधानसभा सदस्य तथा एमाले ओली समूहका मोरङ अध्यक्ष ऋषिकेस पोखरेललगायतको सहभागीता हुने भनिएको थियो ।
समाचार दैनिक
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved