पोखरा । गण्डकी प्रदेशमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपालीको नेतृत्वमा बनेको नयाँ गठबन्धन सरकारले ४२ औँ दिनमा पूर्णता पाएको छ।
गठबन्धनका प्रमुख दुई घटक कांग्रेस र माओवादीबीच शक्ति बाँडफाँडमा बिहीबार साँझ सहमति भएपछि शुक्रबार ६ जना नयाँ मन्त्रीले शपथ ग्रहण गरेका छन्। शपथ ग्रहण गरेकाहरूमा कांग्रेसका मेखलाल श्रेष्ठ, विन्दुकुमार थापा र मणिभद्र शर्मा कँडेल रहेका छन्।
यस्तै माओवादीबाट संसदीय दलका उपनेता रामजी बराल, चन्द्रबहादुर बुढामगर र दीपक घर्तिमगरले शपथ खाएका छन्। कांग्रेसबाट श्रेष्ठले सामाजिक विकास मन्त्री, थापाले कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री र कँडेलले पर्यटन मन्त्रीको रूपमा शपथ खाएका हुन्।
यस्तै माओवादीबाट बरालले आर्थिक मामिला तथा योजना मन्त्रालय, बुढामगरले कृषि तथा सहकारी मन्त्रालय र चर्तीमगरले वन तथा वातावरण मन्त्रालयको जिम्मा पाएका छन्।
कांग्रेसका मुख्यमन्त्री पोखरेलसहित कुमार खड्का, माओवादीकी मधुमाया अधिकारी गुरुङ, जनता समाजवादी पार्टीका हरिशरण आचार्य र स्वतन्त्र सांसद दीपक मनाङे ९राजीव गुरुङ०ले भने जेठ २९ मा नयाँ सरकार बनेकै दिन शपथ लिएका थिए।
त्यो बेलामा मन्त्रालयको बाँडफाँड नमिलेकाले शपथ मात्रै लिएका उनीहरूलाई केही समयपछि मात्रै मन्त्रालयको जिम्मेवारी दिइएको थियो।
कांग्रेसका खड्काले सामाजिक विकास मन्त्रालय, माओवादीकी गुरुङले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, जसपाका आचार्यले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय र मनाङेले युवा तथा खेलकुद मन्त्रालय पाएका थिए। गुरुङ, आचार्य र मनाङेको मन्त्रालय यथावत रहेको भए पनि कांग्रेसका खड्काको जिम्मेवारी भने फेरिएको छ।
उनलाई सामाजिक विकास मन्त्रालयबाट भौतिक पूर्वाधार मन्त्रालयमा सारिएको छ। उनले सम्हालेको सामाजिक विकास मन्त्रालयको जिम्मेवारी कांग्रेसकै श्रेष्ठले पाएका हुन्। ६ जना नयाँ मन्त्रीले प्रदेश प्रमुख सीताकुमारी पौडेलसँग शपथ लिएका छन्।
नयाँ मन्त्रीको नियुक्तिसँगै गण्डकी प्रदेश सरकार ११ सदस्यीय भएको छ। गत जेठ २९ मा पोखरेल नेतृत्वको सरकार बने पनि मन्त्रालय बाँडफाँडको टुङ्गो नलाग्दा मन्त्रिमण्डल बिस्तारमा ढिलाई भएको थियो।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved