काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संघीयता खारेजी र धर्मनिरपेक्षता सम्बन्धमा जनमत संग्रह गर्नुपर्ने भनी राखेको प्रस्तावमा नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले पनि समर्थन गरेका छन्।
मिश्रले आफ्ना धारणा सार्वजनिक गरेको भोलिपल्ट मंगलबार बिहान पूर्वमन्त्रीसमेत रहेका एमाले नेता बाँस्कोटाले उनैको विचारलाई पृष्ठपोषण हुने अभिव्यक्ति दिएका हुन्।
‘संघीयतामा कुनै देश किन गए ? हामीले आर्थिक, सामाजिक, सांस्कृतिक, भौगोलिक र अन्य ऐतिहासिक पृष्ठभुमी हेरेनौं। जनताको आमूल परिवर्तनको स्वप्नशील तागतभित्र यो एजेन्डा खुसुस्क घुसाइयो,’ बाँस्कोटाले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘नेपालमाभन्दा विदेशमा गोष्ठीहरूको बाढी आयो र हामी बगिरह्यौं। धर्म, संस्कृति र राज्यबारे त छुट्टै बहस गर्नुपर्छ।’
यसअघि मिश्रको विचारलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले स्वागत गरिसकेका छन्। तर प्रगतिशील खेमाले भने संघीयता खारेजी र धर्मनिरपेक्षताबारे जनमत संग्रह गर्नुपर्ने मिश्रको प्रस्तावको तीव्र विरोध गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved