काठमााडौं । असोज संक्रान्तिका दिन सुदूरपश्चिम प्रदेशमा ‘बुढी पोल्ने’ पर्व धुमधामका साथ मनाइँदैछ । हरेक वर्षको असोज १ गते यहाँका सात पहाडी जिल्लामा विजयोत्सवका रूपमा बुढी पोल्ने पर्व मनाउने चलन छ ।
राक्षस पुतनालाई भगवान् श्रीकृष्णले मारेको उत्सवका रूपमा यो पर्व प्रत्येक असोज संक्रान्तिका दिनमा मनाइन्छ । मानीसलाई दुःख दिने पुतनालाई भगवान् श्रीकृष्णले मारेको दिनको सम्झनामा बुढी पोल्ने पर्व मनाइँदै आइएको हो ।
सुदूरपश्चिममा भाद्र संक्रान्ति अर्थात् भदौ १ गते बीच बाटामा गाडिएको सल्ला, बाँझ, निगालो काँसुकस आदि काटेर पुतना बुढी अर्थात् राक्षस पुतनाको प्रतीक बनाइएको हुन्छ । उक्त प्रतीकलाई आज गाउँका सबै मिलेर जलाउने गरिन्छ ।
बुढी जलाउने ठाउँमा आ–आफ्नो बारीमा फलेका काँक्रा लगेर खुसीयालीका रूपमा खाने, डेउडा तथा खेल लगाउने रमाइलो गर्ने र लुतो फाल्ने प्रचलन पनि छ । यसैगरी बुढी पोलेर घर फर्किने क्रममा बाटो–बाटोमा बलेको दियालो पनि गाड्दै जाने प्रचलन छ । आजको दिनलाई सुदूरपश्चिममा बन्दुनी सङ्क्रान्ति पनि भन्ने चलन रहेको बूढापाका बताउँछन् ।
किंवदन्तीअनुसार भगवान् श्रीकृष्णले राक्षस प्रवृत्तिकी पुतनालाई मारेपछि उनका साथी ग्वाला (गोठाला)हरुले पुतनाको शवदहन गरेको कथन रहेको छ । द्वापरयुगमा विशाक्त दूध सेवन गराई बालबालिकाको ज्यान लिने गरेकी राक्षस पुतनालाई भगवान् श्रीकृष्णले दूध चुसी मारेको र भगवान् श्रीकृष्ण बाँचेको खुशीयालीमा यो पर्व मनाइने गरिएको हो । पुतना दहन गरेपछि आज रातभरि देउडा, भुवाजस्ता सांस्कृतिक कार्यक्रम गरिने चलन पनि छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved