वासिङटन । संयुक्तराज्य अमेरिकामा कोरोना भाइरस महामारीकै अवधिमा एक लाखभन्दा बढी व्यक्तिको बढी औषधि सेवन ९ओभरडोज० का कारण ज्यान गएको छ। स्वास्थ्य अधिकारीहरुका अनुसार फेन्टानाइल नामको औषधि र नक्कली अनलाइन चक्की ९पिल्स० खाएर मानिसको मृत्यु भएको हो।
विज्ञहरुको भनाइमा अमेरिकामा प्रतिबन्धित फेन्टानाइल समूहका औषधिको सेवन बढेको छ भने मेक्सिकोबाट निकै घातक नक्कली औषधि अमेरिका भित्रिएको छ। यी औषधिको अनलाइनबाट बिक्री बढेको र त्यसले मानिसको जीवनलाई नै जोखिममा पारिरहेको छ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले जारी गरेको एक वक्तव्यमा कोभिड-१९ महामारीमा संघर्ष गरिरहेकै अवस्थामा ओभरडोजविरुद्धको संघर्ष पनि उत्तिकै चुनौतीपूर्ण रहेको बताएका छन्।
संयुक्तराज्य अमेरिकामा अप्रिल २०२० देखि अप्रिल २०२१ को एक वर्षको अवधिमा एक लाख ३०६ जनाको बढी औषधि सेवन ९ओभरडोज० का कारण मृत्यु भएको छ। अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो २८/५ प्रतिशतले बढी हो अर्थात् हरेक पाँच मिनेटमा एक व्यक्तिको ओभरडोजका कारण ज्यान जाने गरेको छ।
समग्रमा मृत्यु भएका कूल संख्या एक लाख ३०६ जनामध्ये लागूऔषध (ओपिओड्स) को सेवनबाट ७५ हजार ६७३ जनाको मृत्यु भएको छ र यसमध्ये पनि अधिकांशको सिन्थेटिक ओपिओड्सबाट भएको छ। यस समूहमा त्यही फेन्टानाइल पर्दछ। प्रायः यी लागूपदार्थ शरीरमा दुखाई कम गर्न प्रयोग गरिन्छ।
अमेरिकी स्वास्थ्यमन्त्री जाभियर बेसिराले यो संकट निकै संवेदनशील क्षणमा पुगिसकेकाले सबै मिलेर सामना गर्नुपर्नेमा जोड दिएका छन्।
कोभिड-१९ को समयमा बढी समय काम गर्नुपर्ने तथा घरमै बिनाकाम समय कटाउने दुबै किसिमका व्यक्तिले दुखाई कम गर्न र मन भुलाउन यस्ता लागूपदार्थको सेवन गर्ने गरेको पनि मन्त्री जाभियरको भनाइ छ। परिवारका सदस्यहरु गुमाएका छोराछोरीले सार्वजनिक रुपमै यस्ता घातक औषधि सेवन गरेको बताएको पनि मन्त्री जाभियरले बताए।
अमेरिकामा कोभिड-१९ बाट पाँच लाख व्यक्तिको ज्यान गएको छ।
अमेरिकी औषधि नियामक निकायले वास्तविक औषधि झैं लाग्ने तर लागूपदार्थ मिसाइएका औषधिहरु अनलाइनबाट बिक्री भइरहेको भन्दै त्यसतर्फ सचेत रहन नागरिकहरुलाई आग्रह गरेको छ। यसै वर्षमात्र एक करोड ४० लाख चक्की नक्कली औषधि बरामद गरिएको छ। यी औषधि चीनबाट आपूर्ति गरिएका रसायनको मद्दतबाट मेक्सिकोमा उत्पादन गरिएका छन्।
यी नक्कली चक्कीहरु सामाजिक सञ्जाल र ई–कमर्स साइटमा छ्यापछ्याप्ती उपलब्ध रहेका छन्। सन् २०१९ मा अमेरिकामा मुटुसम्बन्धी रोगबाट सबैभन्दा बढी व्यक्तिको ज्यान गएको थियो। प्राप्त विवरणअनुसार मुटुरोगबाट ६ लाख ६० हजार, क्यान्सरबाट ६ लाख तथा चोटपटकबाट १ लाख ७५ हजारको मृत्यु भएको थियो।- रासस-एएफपी
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved