इटहरी ।सुनसरीका विभिन्न स्थानबाट प्रहरीले एक लाख २३ हजार मूल्य बराबरका अवैध सामान बरामद गरेको छ ।
भन्सार छली गरेर भारतबाट ल्याउँदै गरेको अवस्थामा प्रहरीले सामान बरामद गरेको हो । तस्करी गरेर ल्याउँदै गर्दा चिनी, सूर्ति, कपडा लगायतका सामान नियन्त्रणमा लिइएको सुनसरी प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापाले जानकारी दिए ।
उनका अनुसार बरामद गरिएको सामान एक लाख २३ हजार ९० रूपैयाँ बराबरको छ । तस्करीका सामान आवश्यक कारबाहीका लागि बुधबार सेतुबन्ध भन्सार कार्यालय कोसी ब्यारेजमा बुझाइएको एसपी थापाले बताए ।
उनका अनुसार पछिल्लो समय नेपालबाट भारत र भारतबाट नेपालतिर भन्सार छली गरेर तस्करीका सामान कटाउने गरिएको सूचनाका आधारमा प्रहरीले विभिन्न स्थानमा निगरानी बढाएर कडाइ गरिरहेको छ । तस्करी नियन्त्रण र अवैध सामान बरामद गर्नकै लागि प्रहरीको विशेष टोली परिचालित रहेको जानकारी एसपी थापाले दिए ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved