सुन तस्करी एवम् सनम हत्या प्रकरण : सुनका लगानीकर्ता एमके मामालाई धरौटीमा छोड्न आदेश

  • मंसिर २७, २०७८
  • कालापानी मिडिया
alt

बिराटनगर । जिल्ला अदालत मोरङले सनम शाक्य हत्या एवम् करिब ३८ क्विन्टल सुन तस्करी प्रकरणका अभियुक्त एमके मामा भनिने मोहनकुमार अग्रवाललाई धरौटीमा छोड्न आदेश दिएको छ । न्यायाधीश भरत लम्सालको इजलासले अग्रवाललाई तीन लाख रुपैयाँ धरौटीमा छोड्न सोमबार आदेश दिएको अदालतका श्रेस्तेदार टीकेन्द्रवीरजङ्ग राणाले बताए । 

अग्रवाल काठमाडौँबाट गायब बनाइएको भनिएको साढे ३३ किलो सुनका लगानीकर्ता रहेको दाबी सरकार पक्षको थियो । श्रेस्तेदार राणाका अनुसार सुनसरीको धरान उपमहानगरपालिका–३ का ५७ वर्षीय अग्रवाल आफ्ना कानुन व्यवसायीमार्फत अदालत उपस्थित भएकै दिन धरौटीमा छुटेका हुन् ।
 
अदालत उपस्थित भएपछि उनीसँग बयान लिइएको थियो । त्यसपछि वादी नेपाल सरकार र प्रतिवादी पक्षका कानुन व्यवसायीबीच थुनछेक बहस सकिएपछि उनीविरुद्धको मुद्दामा अदालतले आदेश दिएको हो । मुद्दामा वादी नेपाल सरकारका पक्षबाट जिल्ला सरकारी वकिल कार्यालय मोरङका जिल्ला न्यायाधीवक्ता रामहरि काफ्ले र प्रतिवादी अग्रवालका पक्षमा वरिष्ठ अधिवक्ता रमेश कोइराला तथा अधिवक्ता शान्तिराम भण्डारीले बहस गरेका थिए ।

राणाका अनुसार तत्काल प्राप्त प्रमाणका आधारमा पछि ठहरेबमोजिम हुने गरी अग्रवाललाई धरौटीमा छोड्न आदेश भएको हो । अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा अग्रवालविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पनि मुद्दा चलिरहेको छ । अदालतले अग्रवाललाई विभागमा उपस्थित हुन पनि आदेश दिएको श्रेस्तेदार राणाले बताए । 

जिल्ला अदालत मोरङले सनम हत्या र सुन तस्करीसँग जोडिएको मुद्दाको फैसला असोज १९ गते गरेको थियो । ७७ जना प्रतिवादीमध्ये मुद्दाको फैसला हुँदासम्म ५६ जनामात्रै पक्राउ परेका थिए । प्रतिवादीमध्ये आठ जनालाई दोषी ठहर गर्दै र ४८ जनालाई सफाइ दिँदै न्यायाधीश लम्सालकै इजलासले मुद्दाको फैसला गरेको हो । अदालतले कर्तव्य ज्यान मुद्दामा आठ जनालाई दोषी ठहर गर्दै ६ जनालाई जन्मकैदको सजाय सुनाएको थियो । 

अदलतले मुद्दाका मुख्य अभियुक्त मोरङ उर्लाबारीका गोरे भनिने चूडामणि उप्रेतीसहित टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, कृष्ण भनिने नरेन्द्र कार्की र भोजे मामा भनिने भोजराज भण्डारीलाई जन्मकैदको सजाय सुनाएको हो । अपहरण तथा शरीर बन्धक मुद्दामा गोरेको कसूर कायम गरेर अदालतले उनका सवालमा सजाय निर्धारण पनि गरिसकिएको छ । 

प्रतिवादीमध्ये भारतीय नागरिक राजन कुमारलाई ३ वर्ष र माधव भनिने मदनप्रसाद घिमिरेलाई ६ महिना कैद सजायको फैसला भएको थियो । तस्करी गरेर दुबईबाट २०७४ साल माघ ९ गते काठमाडौँ ल्याएको साढे ३३ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर निकाल्ने क्रममा गायब बनाएको आरोपमा गोरेको समूहले सनमको हत्या गरेको हो । अग्रवाल गायब बनाइएको उक्त सुनका लगानीकर्ता रहेको अनुसन्धानबाट खुलेको थियो । 

अनुसन्धानबाट दुवईदेखि नेपालमा तस्करी हुने सुनको मुख्य लगानीकर्ता अग्रवाल रहेको पत्ता लागेको दाबी सरकार पक्षको छ । अनुसन्धानका क्रममा तस्करी भएर दुबईबाट भित्रने सुन भारततिर कटाउने धन्दामा समेत उनको संलग्नता देखिएको थियो ।  

मोरङको उर्लाबारी नगरपालिका–१ मा २०७४ साल फागुन १८ गते करेन्ट लगाएर यातना दिँदै सनमको हत्या गरिएको हो । हत्या गरेपछि उनको शव धरानस्थित निर्वाणा कन्ट्री क्लबमा लगेर एक रात राखियो । भोलिपल्ट विराटनगरबाट उनको शव बरामद गर्दै प्रहरीले हत्यामा संलग्न ३ जनालाई पक्राउ गरेको थियो । 

हत्याको अनुसन्धान गर्दा सन् २०१५ जुलाईदेखि २०१६ अगस्टसम्ममा दुबईदेखि नेपालमा लगभग ३८ क्विन्टल सुन तस्करी भएको पत्ता लागेको दाबी सरकार पक्षको थियो । जिल्ला अदालत मोरङमा ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ गरेर चारवटा शीर्षकमा सरकारी वकिल कार्यालय मोरङले २०७५ वैशाख १९ गते मुद्दा दायर गरेको थियो । सो मुद्दामा १७ अर्ब एक करोड ८० लाख ७१ हजार चार सय रुपैयाँ बराबरको ३७ लाख ९९ हजार पाँच सय ६३ ग्राम (करिब ३८ क्विन्टल) सुन अवैध रूपमा आयात गरिएको दाबी गरियो । 

हत्यामा संलग्नलाई दोषी ठहर गरे पनि अदालतले सुन तस्करीमा संलग्न भनिएकाहरू सबैलाई सफाइ दिएको छ । प्रमाणका रूपमा पेस गर्नुपर्ने सुन बरामद नभएपछि तस्करीमा संलग्न भनिएकाहरू सबैले मुद्दामा सफाइ पाएको बताइन्छ । श्रेस्तेदार राणाका अनुसार सङ्गठित अपराध, भन्सार ऐन र अपहरण तथा शरीर बन्धकसम्बन्धी मुद्दामा उच्च प्रहरी अधिकारीसहितका अभियुक्तले सफाइ पाएका हुन् । अभियुक्तमध्ये अहिलेसम्म १९ जना फरार नै रहेको जानकारी राणाले दिए । 

उनका अनुसार फरार रहेकाको हकमा मुद्दा मुल्तवीमा राखिएको छ । दुई वर्षसम्म अभियुक्त पक्राउ नपरेमा वा हाजिर नभएमा मुल्तवीमा रहेको मुद्दालाई जगाएर अदालतले फैसला गर्ने जानकारी राणाले दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

राप्रपा अध्यक्ष लिङद ...

कञ्चनपुर । राष्ट्रिय प्रजातन्त्र पाटीका अध्यक्ष एव पुर्वमन्त्री राजेन्द्र लिङदेन कञ्चनपुर आएका छन । ...

गरिब जनताको साहारा ब ...

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माको पहलमा सर्लाहीका एक गरिब परिवारको निःशुल्क उपचार ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved