काठमाडौं । नेपाली कांग्रेस सभापतिका लागि दोस्रो चरणको निर्वाचन हुने भएपछि नेताहरु दौडधूपमा लागेका छन् । दोस्रो चरणमा भिड्ने निकटतम् प्रतिद्वन्दी शेरबहादुर देउवा र शेखर कोइराला ब्यक्तिगत रुपमा र उनीहरुका दूतहरुको दौडधूप विहानैदेखि चलिरहेको छ ।
दोस्रो चरणको निर्वाचन हुने भएपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले लैनचौरको एक पार्टी प्यालेसमा प्रतिनिधिहरुका लागि चियापान कार्यक्रम आयोजना गर्नुभएको छ । तर, कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा समेत पुगेपछि कार्यकर्ता र प्रतिनिधिहरुले पौडेलप्रति नै आक्रोश पोखेका छन् ।
कार्यकर्ताको विरोध भएपछि पौडेल आफैले समेत सम्बोधन गर्न पाउनु भएन भने प्रधानमन्त्री देउवालाई पनि सम्बोधन गर्न दिइएन । डा. शेखर कोइरालाले भने कार्यकर्ता र प्रतिनिधिहरुलाई सम्बोधन गर्दै दोस्रो चरणको निर्वाचनमा आफूलाई सघाउन आग्रह गर्नुभएको थियो ।
उता, डा .कोइरालाले सभापतिका अर्का प्रतिष्पर्धी प्रकाशमान सिंहसंग भेटवार्ता गर्नुभएको छ । चाक्सीबारीस्थित सिंहको निवासमै पुगेर कोइरालाले सिंहसंग वार्ता गर्नुभएको हो । त्यसअघि सिंहलाई भेट्न प्रधानमन्त्री देउवाको दूत बनेर गृहमन्त्री बालकृष्ण खाँड पनि सिंह निवास पुग्नुभएको थियो । सिंहले भने दुवै जनालाई आफ्नो टीममा सल्लाह गरेर जवाफ दिने बताउनुभएको थियो ।
यस्तै सिंह र विमलेन्द्र निधिबीच पनि दोस्रो चरणमा कसलाई सघाउने भन्ने विषयमा टेलिफोनमा सल्लाह भएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved