भरतपुरमा फाेहाेर ब्यवस्थापन जटिल , स्मार्ट सिटि बनाउने याेजना कागजमै सिमित

  • मंसिर २९, २०७८
  • कालापानी मिडिया
alt

चितवन ।  फोहोर व्यवस्थापनमा भरतपुर महानगरपालिका असफल भएको छ । जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल सकिनै लाग्दा पनि दीर्घकालिन रुपमा फोहोर व्यवस्थापन हुन नसकेपछि महानगरवासी आजित भएका छन् ।महानगरले भरतपुर–३ नगरवन र भरतपुर–२४ धुव्र ल्याण्डफिलमा फोहोर डम्पिङ गर्दै आएकामा स्थानीयले पटकपटक अवरोध सिर्जना गरेका छन् ।

बस्तीछेउमा गरिएको डम्पिङले दुर्गन्ध फैलाएको र पानीको स्रोतसमेत बिग्रिएको भन्दै स्थानीयले अवरोध गर्ने गरेका छन् ।दुई ठाउँमा पटकपटक अवरोध हुनेगरेपछि महानगरको बोर्ड बैठकले केही समयसम्म भरतपुर-१ रामनगरमा फोहोर डम्पिङ गर्ने प्रस्ताव गरेको थियो । तर, उक्त प्रस्तावविरुद्ध स्थानीय आक्रमक बनेपछि प्रस्ताव पास हुन सकेन ।

अहिले भरतपुर महानगरमा चार दिनदेखि फोहोर उठ्न सकेको छैन । स्मार्ट सिटी भनिने गरिएको भरतपुरमा फोहोर व्यवस्थापन मुख्य समस्या बनेको छ । यहाँ स्मार्ट सडकदेखि स्मार्ट शौचालयसम्म निर्माण हुँदै छन् । स्मार्ट योजनाहरू समयमै नसकिएर अलपत्र परेका छन् ।

भरतपुर क्षेत्रमा पटकपटक फोहोर थुप्रिने गर्छ । स्मार्ट सिटी भरतपुरमा मास्कले समेत नछेक्ने दुर्गन्धबाट स्थानीय पीडित हुनुपरेको छ ।चितवनको सदरमुकाम हो भरतपुर । भरतपुरको पनि केन्द्रमा पर्छ चौविसकोठी । पश्चिम चितवनबाट आउने महानगरवासीलाई चौविसकोठी प्रवेश गर्ने बाटोमा फोहोरको थुप्रोले स्वागत गरेको जस्तो अनुभूति हुन्छ । त्रिचोकदेखि चौविसकोठीसम्मको बाटोको छेउमा स्वागत गर्न राखेझैँ फोहोरका थुप्रो देख्न सकिन्छ ।

भरतपुर महानगरपालिका-७ कटहर चोकका रेशम गुरुङले महानगरले जनताको स्वागतमा घडाको साटो फोहोरको थुप्रो राखेको बताए । ‘ठूलाबडा मान्छेको स्वागतमा बाटोका छेउमा घडा राख्ने, कलश राख्ने गरेको त देखिएको हो । महानगरले त जनताको स्वागतमा फोहोरेको थुप्रो पो राखेको छ’, उनले भने ।

भरतपुर विमानस्थलको आडैमा फोहोर थुप्रिएका मात्रै छैनन्, खुला शौचालयसमेत बनेको छ । त्यस्तै, नारायणगढ बजारमा थुप्रिएको फोहोरको डंगुरले बजार कुरुप बनेको छ । फोहोरको थुप्रोबाट आउने दुर्गन्धले वान्ता नै हुने गरेको स्थानीय रमेश पराजुली बताउँछन् ।‘पसलमा तरकारी लिन जान सक्ने अवस्था नै छैन । फोहोर देखेर एकचोटी त मलाई वान्ता नै भएको छ’, उनी भन्छन्, ‘विकास गरेँ, बाटो बनाएँ भन्छन् । फोहोरको अवस्था भने जहिल्यै यस्तै देख्छु । विकासमा फोहोर उठाउने काम पर्दैन र भन्या ?’

समयमा फोहोर उठ्न नसक्दा स्थानीयलाई मात्र नभएर व्यवसायी, सेवाग्राही र यात्रीहरुलाई समेत समस्या भएको उनी बताउँछन् ।

माग सम्बोधन गरेर फोहोर उठाउने तयारी

भरतपुर–२४ धुव्रका स्थानीयको माग सम्बोधन गरेर आजदेखि फोहोर उठाउने योजना रहेको भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले बताए । भरतपुर–२४ मा धुव्र ल्याण्डफिल साइट छ । त्यहाँ फोहोर फाल्दा दुर्गन्ध फैलिएको भन्दै स्थानीयले पटक–पटक अवरोध गर्दै आएका छन् ।

‘बर्खामा धुव्र ल्याण्डफिलमा र हिउँदमा नगरवनमा फोहोर फालिने गरिएको थियो । अहिले नगरवनका स्थानीयले फोहोर फाल्न दिएका छैनन् । धुव्रमा पनि दिएनन्’, उनले भने, ‘त्यो हुनाले आज कार्यपालिका बैठक बस्ने र स्थानीयसँग वार्ता गर्ने योजना छ । उहाँहरुसँग बसेर कुरा गरेपछि दिनुहुन्छ होला भन्ने छ ।’

स्थानीयको मागलाई बुधबार सम्बोधन गरेर आजबाट फोहोर उठाइने उनको दाबी छ । बाटो निर्माण, ग्राभेलको भुक्तानी, दुर्गन्ध व्यवस्थापन र तारजाली लगाइदिनुपर्ने लगायतका विषय राखेर स्थानीयले अवरोध गरेको उनले बताए । धुव्र ल्याण्डफिल र नगरवन बाहेक महानगरले फोहोर फाल्ने स्थानको विकल्प भेट्न सकेको छैन ।

महानगरले विकासका आयोजनाहरू पारिदिने आश्वासन दिएर स्थानीयलाई केहीदिनसम्म थमथमाउने गर्छ । स्थानीयहरुले फेरि नयाँनयाँ माग राखेर अवरोध सिर्जना गर्छन् ।

भरतपुर-३ नगरवनमा स्थानीयले फोहोर फाल्न नदिएपछि महानगरले फोहोर भरतपुर–२४ मा लगेको हो । यस पटक फेरि स्थानीयले अवरोध गरेपछि फोहोर उठ्न नसकेको हो ।

‘स्यानिटरी ल्याण्डफिलको एमओयू डिसेम्बरभित्रै’

दीर्घकालिन रूपमा फोहोर व्यवस्थापनका लागि सुडोनोन ल्याण्डफिल्ड साइट म्यानेजमेन्ट नामक कोरियन संस्थाको साझेदारीमा भरतपुर-२ आँपटारीमा स्यानिटरी ल्याण्डफिल साइट बनाउने महानगरको योजना छ । त्यहाँ महानगरको १५ बिघा जग्गा छ । तर, यो योजना योजनामा मात्र सीमित बनेको छ ।

कोरियन संस्थासँग भदौ २०७५ मा सम्झौता भएको थियो । ल्याण्डफिल साइट निर्माणका लागि डिसेम्बर भित्र कोरियन संस्थासँग एमओयू हुन लागेको उनले बताए । उक्त योजना अनुसारको फिल्डमा काम सुरु हुन पनि कम्तिमा डेढ वर्ष लाग्ने देखिन्छ ।

कुहिने र नकुहिने फोहोरलाई घरमै छुट्याएर कुहिने फोहोरबाट मल बनाउने अभियान पनि सञ्चालन गरिएको उनले बताए । महानगरबाट दैनिक ६५ देखि ७० टन फोहोर निस्कने गर्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
जनताले अब अत्याचार स ...

प्रकाश रायमाझी, राजनीतिक विश्लेषक केपी ओलीको जागरण अभियानले ४६ सालतिर मरिचमान श्रेष्ठले निकालेको पञ ...

सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved