काठमाण्डाै । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल दर्ता गर्न आह्वान गर्दै सूचना प्रकाशित गरेको छ ।
आगामी माघ १२ गते हुने निर्वाचनका लागि आयोगले आज (बिहीबार) सूचना प्रकाशित गरी पुस १० सम्मलाई निवेदन दिने समय तोकेको छ । राष्ट्रिय सभाका २० सदस्यको पदावधि आउँदो फागुन २० मा सकिने भएपछि निर्वाचन हुन लागेको हो ।
यो पटक कार्यकाल सकिनेमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का आठ, नेकपा (एकीकृत समाजवादी)का चार, नेकपा (माओवादी केन्द्र) का चार र नेपाली काङ्ग्रेसबाट निर्वाचित तीन सदस्य छन् ।
२०७५ असार ४ मा गोला प्रथाद्वारा चारवर्षे पदावधि कायम भएका सदस्यको पदावधि सकिन लागेको हो । स्थायी सदन भएकाले राष्ट्रियसभाका एकतिहाई सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुन्छ । राष्ट्रियसभा ५९ सदस्यीय छ । सदस्यको पदावधि छ वर्षको हुन्छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved