इटहरी । सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले प्रदेश १ मा ट्राफिक सप्ताह सुरू भएको छ । १४ जिल्ला रहेको प्रदेश १ मा आइतबार एक समारोहको बिच ट्राफिक सप्ताह सुरू भएको हो । उक्त सप्ताहको उद्घाटन प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले गरे ।
सप्ताहको उदघाटन गर्दै मन्त्री कार्कीले प्रत्येक व्यक्ति सचेत भए मात्र सवारी दुर्घटना न्यूनिकरण हुने भएकाले यस्ता अभियानलाई निरन्तार दिनुपर्ने बताए । सार्वजनिक सवारीमा सिट क्षमताभन्दा बढी यात्रु चढाउनाले दुर्घटना बढिरहेको उनले बताए । यसलाई नियन्त्रण गर्न यातायात व्यवसायीले पनि सचेत हुनुपर्ने उनको भनाइ छ । ट्राफिक नियम उल्लङ्घन गर्नेलाई कारबाही गरिनुपर्ने र कसैले सोर्स लगाउँदैमा छाडिन नहुने उनले बताए ।
सामाजिक विकास मन्त्री जयराम यादवले दुर्घटना न्यूनीकरणका लागि खर्च गरिएको बजेट अन्य क्षेत्रमा खर्च गर्न सकिने बताए । ‘दुर्घटना न्यूनीकरण गर्नका लागि बजेट खर्च भइरहेको छ, तर सबै सचेत भएको अवस्थामा यस क्षेत्रमा बजेट खर्च गर्न पर्दैन, यस क्षेत्रमा खर्च भएको बजेट अर्को क्षेत्रमा सदुपयोग गर्न सकिन्छ,’ उनले भने ।
कार्यक्रममा प्रदेश १ का डिआइजी अरुणकुमार बिसीले प्रदेश १ मा सवारी दुर्घटना भयावह बन्दै गएको बताए । सडकको अवस्था, भौगोलिक कारण, सवारीसाधनको अवस्था, ट्राफिक नियमको उल्लङ्घनलगायत कारणले दुर्घटना भयावह बन्दै गएको उनले बताए । भयावह अवस्थामा रहेको दुर्घटनालाई न्यूनीकरण गर्न ट्राफिक सप्ताह सुरु गरिएको उनले बताए ।
प्रदेशमा आर्थिक बर्ष २०७५÷७६ मा ३७३ जनाले सवारी दर्घुटनामा परेर ज्यान गुमाएका छन् । २०७६÷७७ मा ३३२ जना २०७७÷७८ मा ४४४ जना र चालु आर्थिक बर्षको मंसिर सम्म २१४ जनाले ज्यान गुमाईसकेका प्रदेश ट्राफिक प्रहरीले जनाएको छ ।
सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि प्रदेश १ ट्राफिक प्रहरी कार्यालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा आइतबारबाट सप्ताहको सुरु भएको हो । यसमा जिल्ला प्रहरी कार्यालय मोरङ र जिल्ला ट्राफिक कार्यालय मोरङले सहकार्य तथा समन्वय रहेको छ ।
सप्ताहको पहिलो दिन आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की र सामाजिक विकास मन्त्री जयराम यादवको उपस्थितिमा झाँकीसहितको सचेतनामूलक ¥याली निकालिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङबाट निक्लिएको ¥याली मेनरोड हुँदै जलजला चोक शनिमन्दिर, महेन्द्र चोक हुँदै बसपार्कसम्म पुगेको थियो ।
यस्तै सप्ताहअन्र्तगत सोमबार सामाजिक विकास मन्त्री जयराम यादवको उपस्थितिमा पैदल यात्रीलाई सडक, पेटी तथा जेब्राक्रसबाट हिँड्न सिकाउने, सवारीसाधनको गतिकम गर्न प्रेरित गर्ने तथा जेब्राक्रसमा पैदल यात्रीलाई प्राथमिकता दिने, पार्किङ एवं सडक, पेटी व्यवस्थित गर्दै ट्राफिक सचेतनासम्बन्धी पर्चा र पम्प्लेट वितरण गरिने कार्यक्रम रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख ट्राफिक प्रहरी निरीक्षक चन्द्र बहादुर खड्काले जानकारी दिए ।
तेस्रो दिन स्थानीय तहका प्रमुखहरूको उपस्थितिमा ट्रयाक्टर तथा साइकलमा रिफ्लेक्टर स्टिकर लगाउने, सडक प्रयोगकर्तालाई सडकमै प्रशिक्षित गर्ने र मास्क तथा सेनिटाइजर वितरण गरिनेछ । सोही दिन मोरङका १४ वटा विद्यालयको छनोट गरेर स्कुल सम्पर्क कार्यक्रममार्फत विद्यार्थी लक्षित ट्राफिक प्रशिक्षणको आयोजना गरिने ट्राफिक प्रहरी निरीक्षक खड्काले बताए । चौथो दिन प्रमुख जिल्ला अधिकारी र स्थानीय तहका प्रमुखसमेतको उपस्थितिमा विद्यार्थीसहितको जनचेतनामूलक कार्यक्रम गर्दै प्रेसर हर्न नियन्त्रण, सवारीसाधनका नम्बर प्लेटको चेकजाँच, लेन अनुशासनको पालना गराउने एवं चालकलाई पर्चा बाँड्ने र ट्राफिक तथा नगर प्रहरीले ब्यानरसहित सडक पेटीको अतिक्रमण हटाउने कार्यक्रम छ ।
यस्तै पाँचौ दिन सामुदायिक प्रहरी सेवा केन्द्र र स्थानीय तहसँगको सहकार्यमा सरसफाइ कार्यक्रम गरिनेछ । छैटौँ दिन दुर्घटनाका घाइतेलाई लक्षित गरेर रेडक्रस, लायन्स तथा यातायात व्यवसायीको सक्रियतामा विराटनगरमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिने छ । कार्यक्रमको अन्तिम दिन यात्रुलाई सचेतना जगाउँदै सवारीसाधनका आरक्षण सिटको अनुगमन गर्ने, जानकारीमूलक स्टिकर टाँस्ने, मास्क र सेनिटाइजर वितरण गर्ने, लायन्सद्वारा ट्राफिक चोकमा आइल्यान्ड स्थापना गरेर हस्तान्तरण गर्ने कार्यक्रम रहेको खड्काले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved