काठमाडौं / नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाललाई अन्याय गरेको बताएका छन्।
सोमवार काठमाडौंमा आयोजित प्रतिगमनविरुद्धको कार्यक्रममा उनले नेकपा एक हुँदा पार्टीमा प्रचण्ड धेरै सोझो भएकाले ओलीलाई चिन्न नसकेको समेत बताए। प्रधानमन्त्री र पार्टी अध्यक्ष भएपछि ओलीमा चरम व्यक्तिवादी प्रवृत्ति हुर्किएर आउँदा प्रतिनिधिसभा विघटन भएको उनको दाबी थियो। त्यसैले आजको दिन कालो दिनको रुपमा पुगेको उनले बताए।प्रधानमन्त्री रहेका केपी शर्मा ओलीले गत वर्ष आजकै दिन अर्थात् पुस ५ गते पहिलो पटक प्रतिनिधिसभा विघटन गराएका थिए।
'म कमरेड प्रचण्डको पनि आलोचना गर्न चाहन्छु। उहाँ सोझो हुन पुग्नुभयो। कहिल्यै कुरा उठाउनु भएन उहाँले। अब मेरो पालो छ भन्नुपर्दथ्यो नि। पालो नै नभन्ने! सम्भवतः भर्खर पार्टी एकतावद्ध भएको छ। धेरै भन्यो भने समस्या खडा हुन्छ भन्ने उहाँको कमलो मनमा त्यही परेछ,' नेपालले भने, 'उहाँले केपी ओलीलाई चिन्दै चिन्नुभएन। केपी ओली जस्तो ज्याद्रो मान्छेलाई उहाँले चिन्न नै सक्नु भएन। म त हत्तु हैरान भएर बसेको मान्छे। तर, उहाँलाई पनि केपी ओलीले सहन सकेनन्।'
उनले केपी ओलीको नेतृत्वमा रहेको पार्टीको नारा बामपन्थ नभइ रामपन्थ भएको आरोपसमेत लगाएका छन्। ओलीलाई गफमा कसैले नसक्ने भन्दै गफाडी नम्बर १ भनेर गिनिज बुकमा नाम लेखाए हुने नेपालले बताए।संसद चल्न नदिने र संविधानलाई गति नदिने व्यक्ति परिवर्तनको संवाहक बन्न नसक्ने पनि नेपालको भनाइ थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमसीसीबारे गठबन्धनमा छलफल गरेर निष्कर्ष निकाल्ने बताएका छन्। एमसीसी विशुद्ध आर्थिक सहयोग हुनुपर्नेमा जोड दिँदै सत्तारुढ ५ दलबिच छलफल गरेर साझा निष्कर्ष निकाल्ने बताएका हुन्।नेपालले सेना वा नेपालको सार्वभौम सत्तासँग एमसीसी जोडिन नहुने आफ्नो अडान रहेको बताउँदै त्रुटि भए सच्याएर मात्रै अघि बढ्नुपर्ने बताए।
‘एमसीसीको सवालमा हामी छलफल चलाइरहेका छौँ। त्यसको अन्तरवस्तु के छ? कतै त्रुटि कमजोरी छन् भने सच्याउनु पर्ने कुरा छ भने, कमिटमेण्ट दिनुपर्ने कुरा छ भने ती के के हुन् भन्ने बारेमा पनि हामी छलफल गरिरहेका छौँ। तीन जनाको कमिटी बनाइएको छ। त्यो कमिटीले पनि अध्ययन गरेर आफ्नो निष्कर्ष अघि सार्नेछ। हामी जनभावनालाई पनि हेरिरहेका छौँ। नेपाललाई कुनै पनि किसिमको सैन्य गठबन्धनमा समावेश गर्ने कुरालाई हामी स्वीकार्न सक्दैनौँ,' उनले भने।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved