काठमाडाैं । नेपाल क्रिकेट सङ्घ (क्यान) र अनुशासन कारबाहीमा परेका चार खेलाडी तथा असन्तुष्ट समूहबीच सहमती भएको छ । आइतबार क्यानका अध्यक्ष चतुरबहादुर चन्द, कार्यवाहक सचिव प्रशान्त विक्रम मल्ल, कोषाअध्यक्ष रोशन सिंह, मुख्य प्रशिक्षक पुबुदु दसानायेके र ज्ञानेन्द्र मल्लबीच छलफल भएको थियो ।
क्यान अध्यक्ष चन्दका अनुसार दुई पक्षबीच सहमति भएको हो । सहमतिसँगै सोमबार बिहान ९ बजेसम्म सम्पूर्ण खेलाडी बन्द प्रशिक्षणमा सामेल हुनेछन् । सहमतिअनुसार पूर्वकप्तान मल्लसहित उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीको सेन्ट्रल कन्ट्रयाक्टमाथिको ६ महिने प्रतिबन्ध पनि फुकुवा भएको छ ।
साथै, टोलीको कप्तानीमा सन्दीप लामिछानेले नै निरन्तरता पाउने भएका छन् । खेलाडी वर्गीकरणको विषयलाई लिएर क्यानको विरोधमा उत्रिएपछि क्यान बोर्ड बैठकले कप्तान मल्ल र उपकस्तान ऐरीलाई पदमुक्त गर्दै चार खेलाडीलाई सन् २०२२ को पहिलो ६ महिना सेन्ट्रल कन्ट्रयाक्टमा नराख्ने निर्णय गरेको थियो ।
यस्तै, क्यान बैठकले सन्दीपलाई कप्तानमा नियुक्त पनि गरेको थियो । चार खेलाडीले भने क्यानको कारबाहीमा पुनर्विचार गरिनुपर्ने माग गर्दै आएका थिए ।
तर आइतबार भने कारबाहीमा परेका चारसहित १४ खेलाडी बन्द प्रशिक्षणमा अनुपस्थित बनेका थिए । आइसिसी टी–२० विश्वकप ग्लोबल छनोटको तयारीका लागि जारी बन्द प्रशिक्षणमा अनुपस्थित भएपछि क्यान खेलाडीसँग छलफलमा बसेको हो ।
छलफल सहमतिमा पुगेसँगै क्यानले सोमबारदेखि कीर्तिपुर मैदानमा खेलाडीको तयारी प्रशिक्षण सुरु गर्ने छ । क्याम्पमा रहने खेलाडीलाई पक्नाजोल स्थित रमादा इन्कोरमा राखिएको छ ।
क्यान खेलाडी छनोट समिति र प्रशिक्षक पुबुदुले बिहीबार टी–२० विश्वकप ग्लोबल छनोटको बन्द प्रशिक्षणका लागि बिहीबार प्रारम्भिक ३० जना खेलाडी छनोट गरेको थियो । छनोटमा क्यानले अनुशासनको कारबाही गरेको ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरी पनि परेका थिए ।
दोस्रो पटक नेपाली टोलीको प्रशिक्षक बन्नुभएको पुबुदुको प्रशिक्षणमा सोमबारदेखि नेपालले अष्ट्रेलियामा सन् २०२२ मा आयोजना हुने टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटको तयारी गर्न लागेको हो । ग्लोबल छनोटको लागि नेपालले समूह ‘ए’ बाट प्रतिस्पर्धा गर्नेछ । समूह ‘ए’ को छनोट खेल सन् २०२२ को फेब्रुअरी १५ देखि २५ तारिखसम्म ओमानमा हुनेछ ।
समूहमा नेपालसँगै ओमान, आयरल्यान्ड, युएई, फिलिपिन्स, जर्मनी, बहराइन र क्यानडा रहेका छन् । समूह ‘बी’ मा जिम्बावे, हङकङ, नेदरल्यान्ड्स, जर्सी, पपुवा न्युगिनी, सिंगापुर, युगान्डा र अमेरिका रहेका छन् । समूह ‘बी’ को छनोट खेल जुलाई ८ देखि १८ तारिसम्म जिम्बावेमा हुनेछ । समूहको शीर्ष दुई टोली विश्वकपमा छनोट हुनेछन् । नेपालले यसअघि सन् २०१४ मा टी–२० विश्वकप खेलेको थियो ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved