विराटनगर । पटकपटक आन्दोलन गर्दासमेत नोबेल मेडिकल कलेजका सञ्चालक सुनील शर्मा माग सुनुवाई गर्न तयार नभएपछि आन्दोलनरत विद्यार्थीहरूले बिहीबार शर्माको पुत्ला दाहसंस्कार गरेका छन् ।
विद्यार्थीहरुले कलेज परिसरमै शर्माको पुत्ला दाहसंस्कार गरेका हुन् । शंख बजाउँदै कलेज परिसरमा पुगेका विद्यार्थीहरुले मेडिकल कलेज परिसरमा पुत्ला प्रदर्शन गरेका थिए । एमबीबीएस अध्ययनका लागि सरकारले तोकेको शुल्क बुझाएर पढ्न आएका विद्यार्थीहरुलाई कक्षा प्रवेश गर्न नदिएपछि आन्दोलनमा उत्रिएका विद्यार्थीहरुले उठाएका सरोकार सुनुवाई गर्नुको साटो शर्मा र उनको प्रशासन मौन बसेको छ । सञ्चालक शर्मा मौन बसेपछि विद्यार्थीहरुले दवावमूलक आन्दोलनलाई बढाउँदै लगेका छन् ।
विद्यार्थीहरुले पछिल्लो दुई सातादेखि लगातार धर्ना र आन्दोलन गर्दै आएका छन् । तर, सञ्चालक शर्माले मिडिया मार्फत विद्यार्थीको आन्दोलनलाई आरोपित गर्ने, गुण्डा प्रयोग गरी धाकधम्की दिने र घुसपैठ गरी जबरजस्ती आन्दोलन गरेको भन्दै अवमूल्यन गर्न थालेपछि विद्यार्थीहरु थप आक्रोशित भएका छन् ।
अघिल्लो साता जिल्ला प्रशासन कार्यालय मोरङको रोहवरमा वार्ता भएको र वार्तामा सहमति भएका कुराहरु नोवेलले नै उल्लंघन गरेपछि विद्यार्थीहरु थप आन्दोलिन हुन पुगका हुन् । विद्यार्थीहरुको आन्दोलनका कारण नोवेल मेडिकल कलेजले सञ्चालन गर्दै आएको अस्पतालको सेवा समेत केही दिनदेखि प्रभावित बनेको छ । सेवा प्रभावित हुँदा पनि कलेज सञ्चालक शर्माले वेवास्ता गरेपछि विद्यार्थीहरुले माग पूर्णरुपमा सुनुवाई नभएसम्म आन्दोलन छोडेर नफर्कने चेतावनी दिएका छन् ।
बिहीबार पुत्ला दहनपछि आयोजित कोण सभामा बोल्दै नेविसंघका विद्यार्थी नेता जश्वन्त पैडेलले कागे्रस विद्यार्थीहरुको माग र उनीहरुको हितको विपक्षमा जानै नसक्ने भन्दै गुण्डागर्दी गर्नेहरुलाई पार्टीले संरक्षण गर्न नहुने बताए । उनले सुनिल शर्माको पार्टी सदस्यता खारेज गर्नसमेत नेतृत्वसमक्ष माग गरे । त्यसैगरी अखिल क्रान्तिकारीका नेता ताजिम अन्सारीले विद्यार्थीहरुको आन्दोलन शर्माका लागि क्यान्सर बन्न सक्ने र त्यसले नोबेल मेडिकल कलेजको भविष्यलाई समेत प्रभाव पार्न सक्ने भएकोले यसलाई अनावश्यक रुपमा दमन वा प्रभावित गर्ने प्रयत्न नगर्न चेतावनी दिए । उनले कुनैपनि सम्झौताबाट आन्दोलन नटुंगिने भन्दै विद्यार्थीको माग सुनुवाई भए तत्काल आन्दोलन अन्त्य हुने पनि बताए ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved