उदयपुर ।उदयपुरमा भएको बोलेरो गाडी दुर्घटनामा परेर सोमबार साँझ एक जनाको मृत्यु भएको छ । दुर्घटनामा सात जना घाइते भएका छन् ।
कटारीबाट कालीखोलातर्फ जाँदै गरेको बा १० च ४१८८ नम्बरको बोलेरो कटारी नगरपालिका–४ स्थित भित्री सडकखण्डमा दिउँसो ३ः१० बजेतिर दुर्घटनामा परेको थियो । आफैँ अनियन्त्रित भएर बोलेरो दुर्घटना हुँदा उदयपुरको कटारी–८ का ३८ वर्षीय विक्रम राना मगरको मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी बासुदेव खतिवडाले बताए ।
उनका अनुसार दिउँसो दुर्घटनामा परेर गम्भीर घाइते भएका राना मगरको उपचारका क्रममा कटारी अस्पतालमा साँझ ६ बजेतिर मृत्यु भएको हो । दुर्घटनामा कटारी–८ की ५६ वर्षीया सेतीमाया श्रेष्ठ, ५२ वर्षीय चन्द्र श्रेष्ठ, ५० वर्षीया गीता श्रेष्ठ, ५२ वर्षीय कृष्णलाल श्रेष्ठ, कटारी–५ का ५ वर्षीय बालक दिवस श्रेष्ठ, ३६ वर्षीया बुद्धिमाया श्रेष्ठ र ३५ वर्षीया वेतकुमारी थापा मगर घाइते भएका छन् ।
सामान्य अवस्थाका घाइतेहरुको कटारी अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तीव्र गतिका कारण बोलोरो दुर्घटनामा परेको हो ।
दुर्घटनापछि फरार रहेका बोलेरो चालक कटारी–८ का २६ वर्षीय प्रेम श्रेष्ठको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बोलेरो नियन्त्रणमा लिएर घटनाका बारेमा अनुसन्धान थालिएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved