काठमाडाैं । कोरोना सङ्क्रमितको परीक्षण र उपचार निःशुल्क गर्न सरकारले आदेश जारी गरेको छ ।सरकारले कोरोना परीक्षण र उपचार नि:शुल्क हुने आदेश जारी गरे पनि चिकित्सकको सिफारिसबिना कोरोना परीक्षण गराउनेहरूले भने शुल्क तिर्नुपर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिएका हुन् ।
उनका अनुसार सरकारले लक्षण भएका शङ्कास्पद व्यक्तिहरूलाई चिकित्सकले सिफारिस गरेपछि नि:शुल्क परीक्षण गर्ने भनिएको छ ।
आफैँले परीक्षण गर्नेहरूको हकमा भने तोकिएको शुल्क तिर्नुपर्ने उनले बताए । त्यस्तै, स्वास्थ्य मन्त्रालयले तोकेका सरकारी अस्पताल तथा सम्झौता गरेका अस्पतालमा मात्र सङ्क्रमितको निःशुल्क उपचार हुने जनाइएको छ ।
स्वास्थ्य मन्त्रालयले आफ्नो मातहतमा ७८ वटा अस्पतालमा कोभिड–१९ केयर युनिट सञ्चालन भएको जनाएको छ । यसबाहेक सङ्क्रमितको सङ्ख्या बढ्दै गएमा निःशुल्क उपचारका लागि मन्त्रालयले निजी अस्पताल तथा मेडिकल कलेजहरूसँग पनि सम्झौता गर्ने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved