विराटनगर । मोरङको कटहरीमा मदिरा खाएपछि आफ्नै साथीको दुई जनाले हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । जहदा गाउँपालिका ३ का ४० वर्षीय अशोक ऋषिदेवको हत्या आफ्नै दुई जना साथीले गरेको मोरङ प्रहरीको अनुसन्धानबाट खुलेको हो ।
यसअघि उनको मृत्यु पानीमा डुबेर भएको सार्वजनिक भएको थियो । राजमस्त्री काम गर्ने ऋषिदेवको हत्या आरोपमा प्रहरीले कटहरी ३ का ३८ वर्षीय शेखर राजवंशीलाई पक्राउ गरेको मोरङ प्रहरीका डिएसपी मजिंल मुकारूङले जानकारी दिए । उक्त घटनामा संलग्न अर्का एक जना फरार छन् । उनको पनि खोजी कार्य तीव्र बनाएको उनले बताए ।
शनिबार राती काम सकिएपछि उनीहरु कटहरीको एक भट्टी पसलमा गएर मदिरा खाएका सेवन गरेका थिए । ‘भट्टी पसलबाट निस्किएपछि सामान्य विषयलाई लएर विवाद भएको रहेछ । विवाद हुँदा अशोकलाई शंकर र अर्का एक जना साथी भएर आक्रमण गरेका रहेछन्,’ डिएसपी मुकारूङले भने, ‘उनीहरुको आक्रमणबाट अकोशको हत्या भएको छ ।’ हत्या गरेपछि अकोशको शव कटहरी ३ मा जलमग्न भएको स्थानमा लगेर शव फालेको प्रारम्भीक अनुसन्धानबाट खुलेको डिएसपी मुकारूङले बताए ।
‘पानीमा अशोकको शव फालेपछि उनले चढ्दै गरेको साइकल पनि त्यही लगेर फालिदिएको पाइएको छ,’ उनले भने । राती अशोकको हत्या गरेपछि उनीहरु दुवै जना घरमा नसुति बासझ्याङमा बसेको पाइएको छ । प्रहरीले शंकरलाई घरदेखि करिब २ किलोमिटर टाढा रहेको बासझ्याङदेखि आइतबार पक्राउ गरेको हो । अर्को साथी पनि फरार भएकोले उनको पनि खोजी कार्य जारी रहेको छ । पक्राउ परेका राजवंशीलाई प्रहरीले सोमबार कर्तब्य ज्यान मुद्दामा म्याद थप गरि अनुस्न्धान अगाडि बढाएको मोरङ प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved