इटहरी । माघ १२ गते (भोलि) हुने राष्ट्रियसभा सदस्यको मतदानका लागि प्रदेश १ को आवश्यक सबै तयारी पूरा भएको छ । प्रदेश १ का मुख्य निर्वाचन अधिकृत भरत लम्सालले मतदानको तयारी पूरा भए पनि बुथ निर्माणको कार्य मङ्गलबारमात्रै हुने जानकारी दिए ।
प्रदेश १ को दुई मतदानस्थलमा दुईवटा मतदान केन्द्र छन् । अधिकृत लम्सालले मङ्गलबार बिहान नै निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष बनाउन राजनीतिक दलका प्रतिनिधि र उम्मेदवारहरूसँग छलफल गर्ने जानकारी दिए ।
निर्वाचनका लागि विराटनगर महानगरपालिका–१३ स्थित प्रदेश निर्वाचन आयोगको कार्यालय र बाली संरक्षण प्रयोगशालाको कार्यालयलाई मतदान केन्द्र तोकिएको छ । त्यसमध्ये बाली संरक्षण केन्द्रको कार्यालयको मतदान केन्द्रमा प्रदेशसभाका सांसदहरूले मतदान गर्नेछन् भने प्रदेश निर्वाचन आयोगको कार्यालयमा स्थानीय निकायका पदाधिकारीहरूले मतदान गर्ने व्यवस्था मिलाइएको छ ।
राष्ट्रियसभामा रिक्त हुन लागेका १९ सिटका लागि सातवटै प्रदेशमा माघ १२ गते बिहान ९ देखि ३ बजेसम्म मतदान हुँदै छ । निर्वाचनमा नौ दलका ४३ जना उम्मेदवार छन् ।
प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन पदका लागि निर्वाचन हुनेछ । प्रदेश १ मा ३ सय ६४ मतदाता छन् ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved