भक्तपुर । विवाह गर्ने प्रलोभन देखाउँदै १५ वर्षीया किशोरीलाई करणी गरेको अभियोगमा भक्तपुर जिल्ला अदालतले एक युवकलाई १२ वर्ष कैद सजाय हुने फैसला गरेको छ ।
सिन्धुली घर भई भक्तपुर बस्दै आएका विजय भन्ने आशिष नेपालीलाई जबरजस्ती करणी अभियोगमा १२ कैद र ५० हजार नगद जरिवाना हुने फैसला अदालतले गरेको हो । जिल्ला अदालत भक्तपुरका न्यायाधीश स्विकृती पराजुलीको इजलासले नेपालीलाई १२ वर्ष कैद र ५० हजार जरिवाना हुने फैसला सुनाएको हो ।
नेपालीले सिन्धुलीको एक विद्यालयमा अध्ययनरत किशोरीलाई विवाह गर्छु भनि ललाइफकाइ भक्तपुरस्थित आफ्नो डेरामा ल्याएर पटक-पटक करणी गरेका प्रहरीले जनाएको छ । पीडित किशोरी हाल काठमाडौंको गौशालास्थित माइती नेपालको संरक्षणमा रहेकी छन् ।
स्वास्थ्य परीक्षणबाट उनलाई पटक-पटक करणी भएको पुष्टि भएको प्रहरीले जनाएको छ । २० वर्षभन्दा कम उमेरका युवतीको मञ्जुरीमै यौन सम्बन्ध राखे पनि जबरजस्ती करणी हुने कानुनी व्यवस्था छ ।