विराटनगर । राष्ट्रियसभा निर्वाचनमा प्रदेश १ का एमाले उम्मेद्वार गुरु प्रसाद बराललाई मत नहाल्ने आफ्ना जनप्रतिनिधिलाई एमाले प्रदेश १ ले छानविन गरी कारबाही गर्ने भएको छ ।
नेकपा एमाले प्रदेश १ समितिका तर्फबाट एक विज्ञप्ति जारी गर्दै संयोजक तुलसी न्यौपानेले अन्तरघातीलाई कारबाही गर्न आफ्नो पार्टी दृढ संकल्पित रहेको बताएका छन् ।
‘राष्ट्र, जनता, पार्टी, क्रान्तिका वैरीहरूले हाम्रो पार्टीका विरुद्धमा चालेका षडयन्त्रको शिकार भएर पार्टी भित्रका कतिपय अवसरवादी र अराजक पात्रहरुले यो राष्ट्रिय सभा सदस्य पदको निर्वाचनमा समेत अवान्छित हर्कत गरेको पाईएको छ,’ न्यौपानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘पार्टी निर्णय र हित विरुद्धमा चालिएका त्यस्ता अन्तरघाती कदमको वस्तुनिष्ठ छानविन गरी दोषी उपर कडा कारबाही गर्न हाम्रो पार्टी नेकपा एमाले दृढसंकल्पित छ ।’
न्यौपानलेले दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई पराजित गरौं, जवजको मार्ग दर्शनमा समाजवादको आधार निर्माण गरौं भन्ने मूलनाराका वरिपरी गोलवन्द भएर अदम्य साहसका साथ अगाडि बढ्न पनि आव्हान गरेका छन् ।
उनले राष्ट्रिय सभा सदस्य पदको निर्वाचनमा प्रदेश १ बाट विजयी सोनाम गेल्जेन शेर्पालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । देशी विदेशी प्रतिक्रियावादी प्रतिक्रान्तिकारी शक्तिको आड भरोसामा निर्मित एवम् संचालित पाँच दलीय पश्चगामी गठवन्धनको दृढताका साथ एमालेले सामना गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved