इटहरी । सुनसरी स्थित तेस्रो बर्जु महोत्सवमा भएको सम्पूर्ण क्षति महोत्सव आयोजक र प्रायोजकले व्यहोर्नुपर्ने छानविन समितिले निष्कर्ष निकालेको छ।
छानविन समितिले तयार पारेको प्रतिवेदनमा यो घटनाको जिम्मेवार बर्जु सामुदायिक विकास केन्द्रको भएको निष्कर्षसहितको प्रतिवेदन तयार गरेको हो।
महोत्सवको अन्तिम दिन मुख्य आकर्षणका रूपमा नेपाल ल्याइएका कलाकार खेसरीलालको टिमका चारवटा स्कारपियो गाडी जलेको थियो । दुईवटा ‘भिआइपी’ गाडीहरू भने खेसरीलाल बसेको विराटनगरस्थित होटल एसिया–टिकमा सुरक्षित रहेका थिए ।
तोडफोड भएको भारतीय कलाकार खेसरीलाल यादवको गाडी र सर्कसवालाको मोटरसाइकल लगायत अन्य सामानको क्षतिपूर्ति आयोजकले नै व्यहोर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ।
बेचिएको टिकटको अर्धकट्टी देखाएमा त्यसको रकम, व्यापारीले मञ्चमा जोडेका सामानको क्षतिपूर्ति र इलाका प्रहरी कार्यालयको गाडीमा भएको क्षति र प्रहरी कर्मचारीको उपचार खर्च पनि बर्जु सामुदायिक केन्द्रले व्यहोर्नुपर्ने निस्कर्ष समितिले निकालेको हो।
‘यसअघि उहाँले चारवटा गाडीको डेढ करोड रुपैयाँ भन्नु भएको थियो, अहिले थप ३५ लाख पनि जोड्दै हुनुहुन्छ,’ उनले भने, ‘गाडीमा रहेका बाजाबारे जानकारी लिँदैछौँ । त्यसबाहेक अहिले दुईवटा गाडीको क्षतिपूर्ति दिनेगरी सहमति भएको छ । हामी दोहोरो घाटामा छौँ ।’
सो कान्डमा चार करोड रुपैयाँभन्दा बढीको क्षति भएको आयोजकको अनुमान छ । टिकट बेचेको १२ लाख रकम पनि सो भिडले लुटेर लगेका कारण आफूहरू तिर्न सक्ने अवस्थामा नरहेको उनको भनाइ छ ।
आयोजकले सरकार र प्रशासनको उर्दी लतार्दै महोत्सवको अन्तिम दिन कार्यक्रम गर्न खोज्दा अप्रिय घटना घटेको थियो । आयोजकले खेसरीलाललाई विराटनगर ल्याएर महोत्सवको टिकट बेचेको थियो ।
तर, खेसरीलाल महोत्सवस्थल नआएको भन्दै आक्रोशित भिडले कलाकारको टिमको चारवटा गाडी जलाएको थियो भने साउन्डसिस्टस र कुर्सी तोडफोड गर्दा करिब चार करोडको क्षति भएको थियो । सो भिडले आयोजकले टिकट काटेर राखेको १२ लाख रकमसमेत लुटपाट गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved