काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सदनको यही सत्रबाट अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित गर्ने तयारी अगाडि बनाएपछि सत्तारुढ दलको सम्बन्ध चिसिन पुगेको छ ।
सत्तारुढ अन्य दल सहमत नभएमा एमालेसँग मिलेर भए पनि एमसीसी पास गराउने रणनीतिमा देउवा लागेपछि नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी सशंकित बनेका हुन् । विवादित विषयहरु संशोधन नगरी एमसीसी अघि बढाउन नहुने पक्षमा देखिएका यी दुई दल र जसरी पनि पास गर्ने कांग्रेसको अडानका कारण सत्ता गठबन्धनमा खटपट शुरु भएकाले प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना दूतहरु परिचालन गर्न थालेका छन् ।
उनले एमसीसी पास गराउने पक्षमा राजी गराउन माओवादी अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालकहाँ दूत पठाएका छन् । गृहमन्त्री बालकृष्ण खाँणले सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग भेटवार्ता गरेका छन् । बुधबार बिहान १० बजेपछि गृहमन्त्री खाँण स्थानीय तहको निर्वाचनका सन्दर्भमा बिफ्रिङ गर्ने अध्यक्ष नेपालको निवास कोटेश्वर पुगेका हुन् ।
गृहमन्त्री खाँणका निजी सचिव नरेन्द्र केसीकाअनुसार स्थानीय तहको निर्वाचन कसरी सम्पन्न गर्ने भन्ने विषयमा छलफल भएको थियो । उनले भने, ‘समसामयिक विषयमा कुराकानी गर्न गृहमन्त्री ज्यू पूर्व प्रधानमन्त्री (माधव नेपाल) ज्यू को निवासमा जानुभएको थियो । उहाँले भेटमा स्थानीय तहको चुनाव एकै पटक गर्ने विषयमा बिफ्रिङ गर्नुभएको छ ।’
केसीकाअनुसार मंगलबार गृहमन्त्री खाँणले खुमलटार पुगेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेका थिए । यस्तै स्थानीय निर्वाचनका सन्दर्भमा गृहमन्त्री खाँणले आजै १ बजेबाट सुरक्षा समितिको गरिरहेका छन् । स्थानीय तहको निर्वाचन जेठ ४ गते गर्न प्रधानमन्त्री तयार भएपछि राजनीतिक भेटघाटले तीव्रता पाएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved