इटहरी डेस्क । पछिल्लो समय आफू पनि केही नगर्ने र अरूले गर्न खोज्दा आलोचना गरेर निरन्तर खिचातानी गर्नेहरूको संसार छुट्टै छ । सामाजिक सञ्जालमा आफ्नो प्रयास, प्रतिभा पोस्ट गरेमा त्यहाँ दुई धारका मान्छे जन्मन्छन् । एउटा देखावटी ताली बजाउने हुन्छ अनि अर्को हुन्छ, आलोचना गर्दै गाली गर्ने ।
त्यस्ताहरूको सिकार भएका छन्, दाङ तुलसीपुर– ३ रानागाउँका ३० वर्षीय ऋषिराम परियार । उनी अहिले फरक प्रयासमा छन् । ऋषिअहिले उल्टो हिँडेर विश्व कीर्तिमान बनाउने प्रयासमा छन् । तर उनको प्रयासलाई केही आलोचक भनौदा ‘आरिसे’ हरूले सहन सकेका छैनन् ।
मान्छेले गिनिज बुक अफ वर्ल्ड रेकर्डका लागि अनेकन काम गर्छन् । प्रत्येक वर्ष प्रकाशित हुने सन्दर्भ पुस्तक गिनिज बुकमा आफ्नो नाम लेखाउन मान्छेहरू तँछाड–मछाड गर्छन् । केहीले सन्देश दिएका छन् भने केहीले अनावश्यक हर्कत देखाएका छन् ।
केहीले पादेरसमेत विश्व कीर्तिमान रचेका छन् । कसैले लगातार बेलुन फुकेर, कसैले लगातार कराएर, कसैले एक मिनेटमा सबैभन्दा धेरै टमाटर खाएर अनि यस्तै यस्तै खासै अचम्मित नपार्ने खालका थुप्रै विश्व रेकर्ड कायम भएका छन् ।
तर स्वस्थ बन्न दैनिक कम्तिमा एक घण्टा अनिवार्य हिँड्नु पर्छ भन्ने स्वास्थ्य सन्देश लिएर विश्व रेकर्ड राख्ने सोचले उल्टो यात्रामा निस्किएका ऋषिको भने नेपालमा तीव्र आलोचना भइरहेको छ । मेचीदेखि महाकालीसम्मको उल्टो पैदल यात्रा सुरु गरेका ऋषिले शनिबारदेखि काँकरभिट्टाको मेची नदि किनारबाट उल्टो पैदल यात्रा थालेका हुन् ।
हाल उनी सुनसरीको रामधुनी नगरपालिका– झुम्का आइपुगेका छन् । दुई महिनाभित्र महाकाली पुग्ने योजना बनाएका परियारले दैनिक ३० देखि ४० किलोमिटर यात्रा गरिरहेका छन् । ऋषिले यसअघिसमेत जम्पिङ्ग जक्सबाट विश्व रेकर्ड राखिसकेका छन् ।
उल्टो यात्रामा समेत गिनिजबुकमा नाम लेखाउने परियारको लक्ष्य छ । यी दुई अभियान सफलपछि थप दुई विधामा समेत विश्व रेकर्डको आफू तयारीमा रहेको परियारको भनाइ छ । नेपाल र नेपालीलाई विश्वसामु परिचित गराउन आफूले यी सबै काम गरेको परियार बताउँछन् ।
उनी भन्छन्, ‘आजभोलि मानिसहरू हिँड्न छोडेर सुविधाभोगी धेरै हुँदा कति धेरै रोगको सिकार भइरहेका छन् । हिँड्नु जति स्वास्थ्यलाई राम्रो केही छैन । डाक्टर र स्वास्थ्य विशेषज्ञले नछुटाई भन्ने कुरा हो हिँडडुल गर्नुस् ।’
स्वास्थ्य सन्देश अनि नेपाल र नेपालीलाई चिनाउने योजनासहित उल्टो यात्रामा निस्किएका युवालाई गाली पनि गर्ने छन् । व्यङ्ग्य र आलोचना गर्ने छन् । समाज र देशलाई हानि नोक्सानी नपुर्याइ यो देशका हरेक व्यक्तिले आफूले चाहेको क्रियाकलाप गर्न पाउँछ । अनि पनि मानिसले ऋषिलाई गाली, व्यङ्ग्य र आलोचना गरिरहेका छन् । फेसबुकका शिक्षित समूहको ग्रुप एमआरआरमा समेत उनको आलोचना हुने गरेको छ । धेरैले ऋषिले काम नपाएर ‘हर्कत’ गरेको भन्दै आलोचना गर्ने गरेका छन् ।
उनी त्यतिकै उल्टो हिँड्दैनन् । झोलामा सिउरिएको नेपालको राष्ट्रिय झन्डा फर्फराउँदै हिँड्छन् । नेपाली भेषभूषा दौरा सरुवाल, निलो स्टकोट र कालो भादगाउँले टोपीमा सजिएका परियार पूर्व– पश्चिम राजमार्गको एउटा कुनाबाट उल्टो हिँडिरहन्छन् । हातले टेकेरसमेत हिँड्न सक्ने क्षमता भएका परियारले २०७३ सालमा दुई हातले टेकेर दुई किलोमिटर यात्रा गरेका थिए ।
विसं २०६५ सालमा एसएलसी उत्तीर्ण गरेपछि भने उनको मनमा फरक ढंगका क्रियाकलाप गरेर समाजमा केही शिक्षा दिन मन भयो । यसैले पनि फरक क्रियाकलाप सुरु गरेको परियारले सन् २०२० को जनवरी ३१ मा जम्पिङ्ग जक्सबाट विश्व रेकर्ड राखे । त्यतिबेलाको उपलब्धिबाट नै प्रेरित भएर उल्टो हिँडेर दुई महिनाभित्र मेचीदेखि महाकालीसम्मको यात्रा गर्ने अठोट लिएको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved