विराटनगर । प्रदेश नम्बर एकमा सिंघीया, केसलिया करिडोर र मिरगञ्ज पुल समस्या समाधानको लागि भारतको बिहार सरकारका उपमुख्यमन्त्री तारकेश्वर प्रसाद र प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीबीच छलफल भएको छ ।
नेपाल भ्रमणमा रहेका बिहारका उपमुख्यमन्त्री प्रसाद र आन्तरिक मामिला तथा कानुन मन्त्रीबीच भएको छलफलमा प्रदेश राजधानी विराटनगर हुँदै बग्ने दुई प्रमुख नदी सिंघीया र केशलियको बाहिरसम्मको क्षेत्रमा तटबन्धनसहितको करिडोर निर्माणको विषयमा छलफल भएको हो ।
त्यस अवसरमा मन्त्री कार्कीले हालै भारतको बथनाहामा अवस्थित मिरगञ्ज पुलमा भएको क्षतिका कारण यसक्षेत्रका उद्योगी व्यवसायीले ठूलो अफ्ठेरो बेहोर्नु परेको सुनाए । मन्त्री कार्कीले भने, ‘हरेक वर्ष पुल भास्सिने र ठूला मालवाहक सवारी साधन आउजाउ गर्न नसक्दा व्यवसायीले ठूलो परिमाणमा विलम्ब शुल्क बुझाउनु पर्ने बाध्यता छ । समस्या समाधानका लागि निर्माणाधिन अर्को पक्की पुल अविलम्ब संचालन गरिनु पर्दछ ।’ मन्त्री कार्कीले नेपाल र भारतका नागरिकबीच सदियौंदेखि भाईचारा सम्बन्ध रहेको र नदीजन्य विपत्तीका कारण दुवैतर्फ उत्तिकै कठिनाई हुने गरेको बताए ।
मन्त्री कार्कीले प्रदेश १ को राजधानी विराटनगर भएर बिहारतर्फ बग्ने सिंघीया र केसलिया नदीमा आउने बाढीले बिहारतर्फका जनतालाई समेत दुःख हुने भएकोले व्यवस्थित तटबन्धनसहितको करिडोर निर्माण गर्नुपर्नेमा जोड दिए । ‘सिमापार अपराध र लागूऔषधले उत्पन्न समस्याको विषयमा समेत दुवैतर्फका राज्य सरकार मिलेर काम गर्नुपर्दछ,’ मन्त्री कार्कीले भने, ‘परिवेश, भेषभुषा, रहनसहन र आपसी संस्कार अनि संस्कृति दुवै देशतर्फ उस्तै रहेकोले पनि आपसी हितलाई मध्यनगर गरी हामीले कार्य गर्नु परेको छ ।’
त्यसअवसरमा बिहार सरकारका उपमुख्यमन्त्री तारकेश्वर प्रसादले प्रदेश नम्बर एक सरकारसँग मिलेर आफूहरुले धेरै काम गर्न सक्ने र दुवैतिरका नागरिकको हितमा यो अपरिहार्य भएको बताए । उठेका विषयलाई थप औपचारिक रुपमा दुई सरकारबीच छलफलमा लग्न मन्त्री कार्कीलाई पटना भ्रमणमा आउन निमन्त्रणा गर्दै उपमुख्यमन्त्री प्रसादले भने, ‘प्रदेश एकको मात्र नभएर हाम्रो सम्बन्ध सम्पूर्ण नेपाली नागरिकसँग उत्तिकै छ । यो क्षेत्रको विकासमा बिहार सरकारले मद्दत गर्ने विषयमा हामी सरकारस्तरमा थप छलफल गर्नेछौ ।’ उनले मिरगञ्ज पुलबाट सिर्जित समस्याको विषयमा आफूले जानकार रहेको भन्दै यसको समाधानका लागि पहल लिने बताए ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved