विजय चौधरी हत्या प्रकरण : अझै पत्ता लागेन अपराधी

हत्या लगत्तै कसले लग्यो चौधरीको २० लाख ?

  • माघ २३, २०७८
  • कालापानी मिडिया
alt

नवलपरासी / गत माघ ८ गते नवलपरासीको रामग्राम नगरपालिका ९ पिपरहिया र जोकवारी सडक खण्डमा एकजना पुरुषको शव फेला पर्‍यो । हात बाँधेर घाँटीमा कपडाले बेरी हत्या गरी सडक छेउको नालीमा फालिएको अवस्थामा फेला परेको शव थियो, विजय चौधरीको । 

काठमाडौँको असनमा डेरा गरी बस्ने चौधरीको असनमा भाँडाकुँडा, हार्डवेयर लगायतको व्यवसाय थियो । विजयका छिमेकीका अनुसार उनले असन लगायतका क्षेत्रमा तीनवटा पसल सञ्चालन गरेका थिए र पसलबाट आम्दानी पनि राम्रो भइरहेको थियो । त्यसबाहेक पनि छिटो पैसा कमाउन सकिने भन्दै विजय अन्य व्यापार व्यवसायमा पनि लागेका थिए । विजयले आफ्ना परिवारका सदस्यसँग ‘इन्भेष्टमेण्ट कम्पनीमा लगानी गरेको’ बताउने गरे पनि त्यो इन्भेष्टमेण्ट कम्पनी कुन थियो भन्ने अझै खुलिसकेको छैन । 

परिवारका सदस्यसँगको कुराकानीका क्रममा चौधरीले आफूलाई एक इन्भेष्टमेण्ट कम्पनीले ठगी गरेको बताउँदै उक्त रकम फिर्ता लिन लागिपरेको बताउने गरेका थिए । तर परिवारका सदस्यसँग कुन इन्भेष्टमेण्ट कम्पनीले आफूलाई ठगेको नभनेको कुरा र चौधरीले कुन व्यापार व्यवसायका लागि उक्त कम्पनीलाई पैसा दिएको पनि भनेका थिएनन् । 

विजय गत माघ ६ गते काठमाडौँबाट भैरहवा पुगेका थिए । माघ ६ गते भैरहवा पुगेका चौधरी माघ ७ गते साँझसम्म पनि परिवारकै सम्पर्कमा थिए । कपिलवस्तु स्थायी ठेगाना भएका चौधरी माघ ७ गते साँझबाट हराइरहेका थिए । माघ ७ गते हराएका चौधरीको शव माघ ८ गते नवलपरासीमा फेला परेको थियो । 

नवलपरासी प्रहरीले चौधरीको हत्या भएको पुष्टि गरे पनि कसले किन हत्या गर्‍यो भन्ने थाहा नभएको बताएको छ । नवलपरासी प्रहरीका प्रवक्ता डिएसपी प्रेम शाहीका अनुसार विजय चौधरीको हत्याको सम्बन्धमा अनुसन्धान भइरहेको भए पनि हत्यामा कसको र किन संलग्नता थियो भन्ने नखुलेको बताए ।

डिएसपी शाहीले  भने, ‘विजय चौधरीको हत्याको सम्बन्धमा हामीले अनुसन्धान गरिरहेका छौँ । उनको हत्या नै भएको हो भन्ने कुरामा कुनै शंका रहेन । तर कसले किन हत्या गर्‍यो भन्ने अझैसम्म खुलेको छैन । हामी अनुसन्धान गरिरहेका छौँ । परिवारका सदस्यले दिएको जाहेरीका आधारमा हामीले दुईजनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौँ । तर खासै प्रगति भने भइसकेको छैन ।’

चौधरीको साथमा थियो २० लाख रुपैयाँ

एक इन्भेष्टमेन्ट कम्पनीले आफूलाई ठगेको बताउँदै ठगी रकम फिर्ता लिन चौधरी लागिपरेको परिवारको दाबी छ । यस हत्याको पछाडि पनि आर्थिक कारोबार नै हुनुपर्ने अनुमान प्रहरीले गरेको छ ।

डिएसपी शाहीका अनुसार विजयले जग्गाको कारोबार गर्न भन्दै उनका साथीहरूसँग २० लाख रकम लिएर गएका थिए । विजयको हत्या हुनु अघिल्लो दिनसम्म पनि विजयसँग २० लाख रुपैयाँ थियो । तर हत्यापछि भेटिएको विजयको झोलामा भने कुनै रकम थिएन । प्रारम्भिक अवस्थामा २० लाखको लोभले विजयको हत्या भएको प्रहरीको अनुमान छ । 

असनमा डेरा गरी बसेका विजयका छिमेकी सुजीव बज्रचार्यका अनुसार विजयले बौद्धमा घरसमेत बनाएका थिए । तर थोरै लगानी गरेर धेरै नाफा कमाउने भन्दै विजयले बौद्धमा रहेको घरसमेत करिब ३ वर्ष अगाडि विक्री गरेका थिए । त्यसपछि उनी इन्भेष्टमेण्ट कम्पनीमा लगानी गरेको र चाँडै प्रतिफल आउने भन्दै त्यसैका लागि हिँड्ने गरेका थिए । तर कसले कुन उद्देश्यले हत्या गर्‍यो भन्ने अहिलेसम्म थाहा नभएको बज्राचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

राप्रपा अध्यक्ष लिङद ...

कञ्चनपुर । राष्ट्रिय प्रजातन्त्र पाटीका अध्यक्ष एव पुर्वमन्त्री राजेन्द्र लिङदेन कञ्चनपुर आएका छन । ...

गरिब जनताको साहारा ब ...

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माको पहलमा सर्लाहीका एक गरिब परिवारको निःशुल्क उपचार ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved