टेलिफोनबाट प्रेम, बिहे गर्ने प्रलोभन देखाएर ८० हजारमा भारतमा बिक्री!

  • माघ २७, २०७८
  • कालापानी मिडिया
alt

कञ्चनपुर । २०७७ सालको साउन १९ गते रक्षा बन्धनको दिन सल्यानको हल्चौरकी ३३ वर्षीया अस्मिता (नाम परिवर्तित) को मोबाइलमा नचिनेको नम्बरबाट फोन आउँछ। नचिनेको नम्बर हुनाले उनी फोन रिसिभ गर्दिनन्। तर फोनको घण्टी त्यत्तिकै बन्द हुँदैन। 

बारम्बार नचिनेको त्यही नम्बरबाट अस्मिताको मोबाइलमा फोन बजिरहन्छ। अन्तिममा उनी फोन रिसिभ गर्छिन्। फोन गर्ने व्यक्ति कोहलपुरका ३३ वर्षीय गोपाल विक हुन्छन्। 

अस्मिताले गोपाललाई चिनेकी हुँदैनन्। त्यसैले उनीहरुबीच सुरुमा फोनमा सामान्य कुराकानी हुन्छ। अर्को दिनदेखि गोपाल अस्मितासँग दिनहुँ टेलिफोनमा कुराकानी गर्न थाल्छन्। विस्तारै उनीहरुबीच टेलिफोन कुराकानीमार्फत प्रेम सम्बन्ध झाँगिदै जान्छ।  

त्यो बेला अस्मिता भारतको सिमलामा बस्थिन्। तीन वर्षअघि श्रीमान्को खोजीमा सिमला गएकी उनी श्रीमान्सँग ‘सम्बन्ध विच्छेद’ पछि ८ वर्षीया छोरीसँग सिमलामै काम गरेर जीविकोपार्जन गरिरहेकी थिइन्। 

९ वर्ष अगाडि वैवाहिक सम्बन्धमा बाँधिएकी अस्मिताका श्रीमान् सिमलामा काम गर्थे। भारतमा काम गर्ने श्रीमान् धेरै समयसम्म सम्पर्कमा नआएपछि उनी खोजी गर्न छोरीसहित आफैँ भारत पुगेकी थिइन्। तर अस्मिताका श्रीमान्ले भारतमा अर्को बिहे गरेर बसेका थिए।

पछि उनीहरुबीच छोरीलाई सम्पत्ति दिने सहमति गरेर अलग भएर बस्ने निर्णयमा पुगेका थिए। श्रीमान्सँग सम्बन्ध विच्छेद पछि सिमलामै काम गरेर गुजारा गरिरहेकी अस्मितासँग फोनबाट गोपालको सम्पर्क भएको थियो। 

प्रेम सम्बन्धमा रहेकी अस्मितालाई बिहे गर्ने भनेर गोपालले गत असोजमा सिमलाको बागी भन्ने ठाउँ लगे। बिहेको प्रलोभन देखाएर ती महिलालाई गोपालले स्याउ फार्ममा बेचे। भारतको स्याउ फार्ममा बेचिएकी महिलाको सोमबार माइती नेपाल कञ्चनपुरले उद्धार गरेको छ। 

‘श्रमको लागि बेचिएको देखिन्छ। स्याउ फार्ममा नजरबन्द गरेर राखिएकी महिलाको उद्धार गरेर महेन्द्रनगर ल्याएका छौँ,’ माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले नेपालखबरसँग भनिन्, ‘महिला अहिले हाम्रो संरक्षणमा हुनुहुन्छ।’

माइती नेपाल समक्ष दिएको महिलाको बयान अनुसार गोपाल र अस्मिता दुवैले स्याउ फार्ममा चार महिनासँगै बसेर काम गरे। माघ ११ गते गोपाल नेपाल जान्छु भनेर अस्मितालाई स्याउ फार्ममै छोडेर भागेका थिए। 

‘कोहलपुरको ऐलानी जमीन नाममा हालेर आउँछु भनेर छाडेर गएका थिए। पछि सम्पर्कमा नै आएनन्। नेपाल आउन खोजेँ तर साहुले बाहिर जानै दिएनन्। बन्धक बनाएर राखे’ महिलाको बयान उदृत गर्दै भट्टले भनिन्, ‘गोपालले ५० हजार भारु लगेको र त्यो पैसा नतिरेसम्म जान नपाउने साहुले भनेका थिए।’

त्यस पछि अस्मिताले आफन्तसँग गोपालको बारे सोधी खोजी गर्न थालिन्। ‘मलाई नचिन्ने र जे सुकै गरोस् भनेर आफन्तलाई भनेको रहेछ। यताउता बुझ्दा यसअघि पनि केही महिलालाई यस्तै गरेको कुरा सुनाए,’ महिलाले भनेकी छिन्, ‘त्यसपछि म बेचिएको थाहा पाएँ।’

त्यसपछि उनले आफ्नो बारेमा जानकारी दिन युट्युबको सहायता लिइन्। १८ माघमा आफू बन्धकमा परेको खबर सुरुमा युट्युबर बाबुराम पाण्डेलाई दिएकी थिइन्। महिलाले भनेकी छिन्, ‘युट्युबमा भिडियोहरु हेर्ने गर्थें। युट्युबमा राखेको नम्बरमा फोन गरेर बन्धकमा परेको जानकारी दिएँ।’ 

त्यसपछि यो खबर यताउता सर्वत्र फैलियो। युट्युबर पाण्डेले महिला बन्धकको खबर प्रहरीलाई गरे। १९ माघमा भारतमा महिला बेचबिखनमा परेको सूचना माइती नेपालले पाएको थियो।सूचनाको पाएको पाँच दिनमै माइती नेपाल कञ्चनपुरले भारतमा बन्धक बनाइएकी महिलाको उद्धार गर्न सफल भएको हो। 

उद्धार गरिएकी महिलाका आफन्त सम्पर्कमा आएकोले केही दिनमा उनलाई परिवारको जिम्मा लगाइने माइती नेपाल कञ्चनपुरकी संयोजक भट्ट बताउँछिन्। उनका अनुसार महिलालाई बेच्ने बिकको प्रहरीको सहायतामा खोजी भइरहेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved