काठमाडाैं । उल्टोे हिँडेर विश्व रेकर्ड बनाउने तयारीमा जुटेका दाङ तुलसीपुर– ३ रानागाउँका ऋषिराम परियार अहिले सिरहाको धनगढी पुगेका छन् । दुई साताअघि मेची–महाकाली उल्टो पैदल यात्रा सुरु गरेका परियारले हालसम्म दुई सय ९२ किलोमिटरको यात्रा पूरा गरिसकेका छन् ।
परियार उल्टो पैदल यात्रा थालेको आज (शुक्रबार) १४ दिन भयो । दैनिक २२ किलोमिटरसम्म यात्रा गर्ने परियारले अहिलेसम्म बिसाएका छैनन् । मुख्य राजमार्गको एक छेउ भएर निरन्तर हिँडिरहने ऋषि झोलामा नेपालको राष्ट्रिय झन्डा सिउरिएर हिँड्छन् । राष्ट्रिय भेषभूषा दौरा सरुवाल, निलो स्टकोट र कालो भादगाउँले टोपीमा सजिएका परियार ठाउँअनुसारको भेषभूषा लगाउँछन् ।
मधेस प्रदेश टेकेपछि धोती–कुर्ता लगाएर आफ्नो यात्रालाई निरन्तरता दिने ऋषि यो यात्रामा एक्लै छन् । तर सामाजिक सञ्जालमार्फत उनको अभियानबारे थाहा पाएका स्थानीहरू पनि सँगसँगै हिँड्छन् । ‘सुरुमा मेरो अभियानबारे कमै मानिसलाई थाहा थियो,’ उनले केटिएम दैनिकसँग भने, ‘अहिले धेरैले थाहा पाउनु भयो । जहाँ पुग्छु, न्यायोे स्वागत पाउँछु । अनि धेरै जनाले एक–दुई किलोमिटर भएपनि हिँडेर साथ दिनुहुन्छ ।’
स्वस्थ बन्न दैनिक कम्तिमा एक घण्टा अनिवार्य हिँड्नु पर्छ भन्ने स्वास्थ्य सन्देश लिएर विश्व रेकर्ड राख्ने सोचले उल्टो यात्रामा निस्किएका परियार महाकाली पुग्न अब दुई महिना लाग्ने बताउँछन् । उनका अनुसार अझै हजार किलोमिटर यात्रा बाँकी छ । ‘१४ दिन भयो, निरन्तर हिँडेको,’ उनी भन्छन्, ‘नियमित हिँड्दा अझै दुई महिना लाग्छ । हजार किमि अझै बाँकी छ । बीचमा घना जङ्गल र वन्यजन्तु आरक्ष केन्द्र पर्ने भएका कारण कसरी यात्रा तय गर्ने भन्ने अन्यौलता छँदै छ ।’
बाँके–बर्दियाको जङ्गलमा सुरक्षा निकायसँग समन्वय
परियारको यात्रा अनवरत रूपमा चलिरहेको छ । तर यात्राका क्रममा बाँके र बर्दियाको जङ्गल भने उनका लागि ठुलो चुनौती बन्न सक्छ । बाँके राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्जमा पैदल यात्रा ठुलो चुनौती होे । किनकि, त्यहाँ सुरक्षा निकायले मोटरसाइकलमा यात्रा गर्न पनि रोक लगाएको छ । वन्यजन्तुले आक्रमण गर्ने भएका कारण दुवै निकुञ्ज उल्टो पैदल यात्रामा रहेका परियारका लागि चुनौती बन्न सक्छ । बाँकेकोे तुलनामा बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको त्रास धेरै हुन्छ ।
‘म जहाँ पुगे पनि सुरक्षा निकायसँग समन्वय गरिरहेकै हुन्छु, बाँके पुग्नुअगावै त्यहाँको सुुरक्षा निकायलाई जानकारी गराउँछु,’ उनी भन्छन्, ‘अहिलेदेखि नै त्यहाँका केही संस्था÷ युवाहरूले बाँके र बर्दियाको जङ्गलभरि साथ दिने प्रतिबद्धता जनाउनु भएको छ । त्यसबाहेक सुरक्षा निकायलाई स्कर्टिङको व्यवस्था गरिदिन माग गर्ने छु ।’ सुरक्षाकर्मीको प्रत्यक्ष निगरानीमा बाँके र बर्दियाको जङ्गल पार गर्ने लक्ष्य लिएका परियारले त्यो जङ्गलमा गाडीमा नचढेर निरन्तर उल्टो यात्रा नै गर्ने जनाए ।
यसकारण उल्टो यात्रा
यसअघिसमेत जम्पिङ्ग जक्सबाट विश्व रेकर्ड राखिसकेका परियार उल्टो यात्रामा समेत गिनिजबुकमा नाम लेखाउने लक्ष्यमा छन् । काँकरभिट्टाको मेची नदि किनारबाट आफ्नो यात्रा थालेका उनी भन्छन्, ‘आजभोलि मानिसहरू हिँड्न छोडेर सुविधाभोगी धेरै हुँदा कति धेरै रोगको सिकार भइरहेका छन् । हिँड्नु जति स्वास्थ्यलाई राम्रो केही छैन । डाक्टर र स्वास्थ्य विशेषज्ञले नछुटाई भन्ने कुरा हो हिँडडुल गर्नुस् । यसै सन्देश बोकेर उल्टो यात्रा थालेको हुँ ।’
हातले टेकेरसमेत हिँड्न सक्ने क्षमता भएका परियारले २०७३ सालमा दुई हातले टेकेर दुई किलोमिटर यात्रा गरेका थिए । विसं २०६५ सालमा एसएलसी उत्तीर्ण गरेपछि भने उनको मनमा फरक ढङ्गका क्रियाकलाप गरेर समाजमा केही शिक्षा दिने मनसाय बनाएका थिए । सोेहीअनुरूप उनले सन् २०२० को जनवरी ३१ मा जम्पिङ्ग जक्सबाट विश्व रेकर्ड राखेका थिए ।
‘द मोस्ट जम्पिङ्ग जक्स इन वान मिनेट’ को रेकर्ड परियारको नाममा छ । परियारले भारतीय नागरिकले एक मिनेटमा सय १६ पटक जम्पिङ्ग जक्स गर्दै बनाएको कीर्तिमान परियारले एक सय २३ पटक गर्दै भङ्ग गरेका थिए । त्यतिबेलाको उपलब्धिबाट नै प्रेरित भएर उनी उल्टो हिँड्न थालेका हुन् । अहिले उनको उल्टो पैदल यात्रामा विश्व रेकर्ड दर्ता गराउने टोलीले परियारसँग समन्वय गरिरहेको छ । यी दुई अभियान सफलपछि थप दुई विधामा समेत विश्व रेकर्ड राख्ने तयारीमिा आफू रहेको परियार बताउँछन् ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved