उदयपुर । उदयपुरको उदयपुरगाढी गाउँपालिका–७ मा मङ्गलबार साँझ ‘ब्रेक फेल’ भएर टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् ।
घाइतेमध्ये टिपर चालक र अर्का एक पुरुषको अवस्था गम्भीर छ । नेपालटारबाट बालुवा बोकेर कोल्टेतर्फ जाँदै गरेको पवित्रा निर्माण सेवाको स १ क १९० नम्बरको टिपर बाघखोर–खोल्टे भित्री सडक खण्डमा साँझ ६ः५० बजेतिर दुर्घटनामा परेको हो ।
दुर्घटनामा परेर उदयपुरगढी–७ का अन्दाजी १९ वर्षीय उज्वल खपाङ्गीको मृत्यु भएको छ । प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार टाउको र शरीरका विभिन्न भागमा चोट लागेका खपाङ्गीको उपचारका क्रममा जिल्ला अस्पताल उदयपुरमा साँझ ७ः४५ बजेतिर मृत्यु भएको हो ।
दुर्घटनामा टिपर चालक सप्तरी कल्याणपुरका अन्दाजी २९ वर्षीय उमेशकुमार चौधरी, २४ वर्षीय भरत खपाङ्गी र १७ वर्षीय युवराज खपाङ्गी घाइते भएका छन् । घाइतेमध्ये उमेशकुमार र भरतको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको उपचार जारी छ ।
‘ब्रेक फेल’ भएर अचानक दुर्घटनामा परेको टिपर सडकबाट ४० मिटरजति तल झरेको थियो । दुर्घटनाग्रस्त टिपर घटनास्थलमै छ । प्रहरीले घटनाका बारेमा अनुसन्धान थालिएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved