काठमाडाैं । इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले ब्राइटनमाथि जित हात पारेको छ । मङ्गलबार राति घरेलु मैदानमा भएको खेलमा युनाइटेडले ब्राइटनलाई २–० गोलले हराएको हो ।
इङ्ग्ल्यान्डस्थित ओल्ड ट्राफोर्डमा युनाइटेडलाई जिताउन क्रिस्टियानो रोनाल्डो र ब्रुनो फर्नानडेसले एक–एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको सो खेलको ५१औँ मिनेटमा रोनाल्डोले गोल गर्दै युनाइटेडलाई सुरुआती अग्रता दिलाए ।
यससँगै उनले ६ खेलपछि गोल गरे । सन् २०२२ मा यो उनको पहिलो गोलसमेत हो । यसअघिका ६ खेलमा उनी गोलविहीन थिए । सातौँ खेलमा उनले एक गोल गरेका हुन् ।
यस्तै, खेलको ५४औँ मिनेटमा ब्राइटनका लेविस डन्कले रातो कार्ड पाएपछि पाहुना टोली १० खेलाडीमा समेटियो । त्यसको फाइदा उठाउँदै खेलको इन्ज्युरी समयमा फर्नान्डेसले गोल गरे । उनको गोलमा युनाइटेडले २–० गोलको जित निकाल्यो ।
जितसँगै युनाइटेड शीर्ष चारमा उक्लिएको छ । उसले २५ खेलमा ४३ अङ्क जोडेको छ । पराजित ब्राइटन भने ३३ अङ्कका साथ नवौँ स्थानमा छ । उसले २४ खेल खेलेको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved