इटहरी । सुनसरीको धरान उपमहानगरपालिका–४ स्थित नौकिलोमा जेब्रा झोलाभित्र मानिसको टाउको र खुट्टा फेला परेको छ ।
प्रहरीका अनुसार बुधबार दिउँसो धरान–भेडेटार सडक खण्डनजिक भेटिएको टाउको र खुट्टा पुरुष मानिसको भएको आशङ्का गरिएको छ । शरीर भने फेला परेको छैन । हत्या गरेर शवको टाउको र खुट्टा झोलाभित्र हालेर फ्यालेको हुनसक्ने प्रहरीले जनाएको छ ।
विभिन्न कोणबाट घटनाको अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवरले बताए । उनका अनुसार टाउको र खुट्टा कसको हो भनेर खुलेको छैन ।
घटनाको अनुसन्धानका लागि तालिम प्राप्त कुकुरको प्रयोग पनि गरिएको छ । स्थानीय खड्गबहादुर तामाङ र उनको पत्नी दाउरा खोज्न जङ्गल गएका बेला जेब्रा झोलाभित्र खुट्टा र टाउको देखेर प्रहरीलाई खबर गरेका हुन् ।
शव भेटिएका मानिसको उमेर करिब ४० देखि ४२ वर्ष भएको हुन सक्ने प्रहरीको अनुमान छ । घटनास्थल धरान–१३ को जिरोपोइन्टबाट लगभग ९ किलोमिटर उत्तरमा पर्छ । टाउको र खुट्टा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । अनुसन्धान थाल्दै प्रहरीले घटनाको वास्तविकता पत्ता लगाउने प्रयास गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved