इटहरी । १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरले दुई जना प्रहरीलाई माघ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको छ । इलका प्रहरी कार्यालय रंगेलीका प्रमुख प्रहरी निरीक्षक अनमोल खड्का र १ नम्वर प्रदेश प्रहरी कार्यालय अनुसन्धान समूह रिटमा कार्यरत प्रहरी नायव निरीक्षक फिरोज कुमार चौधरीलाई प्रदेश प्रहरीले माघ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको हो ।
विभागिय मुल्य मान्यता, आदेश निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्याएको भन्दै उनीहरुलाई उत्कृष्ट प्रहरी घोषित गरेको प्रदेश प्रहरी कार्यालले जनाएको छ । अनुसन्धानमा अब्बल मानिएका खड्का र चौधरीले मोरङको धनपालथान र ललितपुरमा गरि तीन जना व्यवसायिको श्रृखलाबद्ध हत्याको घटनाको सफल अनुसन्धान गरि घटनाको मुख्य अभियुक्तसहित पाँच जना प्रतिवादीलाई पक्राउ गरि कानुनी कारवाहीको दायारमा ल्याउन ठुलो भूमिका खेलेका थिए ।
उनीहरुले गरेको कामको उच्च मुल्यकानसहित प्रदेश प्रहरीले सर्वोत्कृष्ट प्रहरी घोषित गरेको हो । धनपालथान गाउँपालिका वडा नम्वर– ७ स्थित उखु बारीमा दुई जना व्यवसायीको हत्या गरेपछि उखुबारीभित्र खाडल खनेर गाडेको स्थान इप्रका रंगेलीको कार्यक्षेत्र भित्र पर्दछ । सो घटनाको सफल अनुसन्धान गरि कारवाहीको प्रक्रिया अगाडी बढेको छ । अहिले पक्राउ परेका पाँच जना प्रतिवादीलाई इप्रका रंगेलीले मोरङ अदालतमा कर्तब्य ज्यान मुद्दामा म्याद थप भइ अनुसन्धान प्रक्रिया अघि बढेको छ ।
यसअघि पनि कर्सियामा भएको सिटीजन बैंक दिनदहाडै लुटपाटको घटनामा संलग्न लुटेरा र जघन्य अपराधको घटनाको सुष्म तरिकाले सफल अनुसन्धान गर्ने प्रहरी अधिकृतको रूपमा प्रहरी निरीक्षक खड्का कहलिएका छन् । कुनै पनि घटनाको मिहिन ढंगले अनुसन्धान गर्नसक्ने क्षमता उनीमा रहेको प्रहरीका अधिकारीहरु बताउने गर्दछन् ।
प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै प्रदेश प्रहरीले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ । सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा निर्माण गरिएको स्तम्भ तथा १ नम्बर प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ‘क’ स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिदै आएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved