सप्तकोशी बैंक घोटाला प्रकरण : सिइओ एक्लैले लगे १४ करोड, अरुले कति लगे ?

  • फाल्गुन ६, २०७८
  • कालापानी मिडिया
alt

विराटनगर । तत्कालीन सिइओसहितका कर्मचारीकै मिलेमतोमा भएको सप्तकोशी डेभलपमेन्ट बैंक हिनामिना प्रकरणमा सिइओ एक्लैले १४ करोड भन्दा बढी रकम अपचलन गरेको भेटिएको छ ।

विराटनगरस्थित सप्तकोशी डेभलपमेन्ट बैंकको कर्पोरेट कार्यालयबाट १५ करोड ७५ लाख ४० हजार ५ सय ७५ रुपैयाँ हिनामिना भएको थियो । त्यसमा सबैभन्दा बढी रकम तत्कालीन सिइओ नविन सुवेदीले लिएको खुलेको छ । सुवेदीले पदीय जिम्मवारीको दुरूपयोग गर्दै दिदी नाता पर्ने झापा दमक नगरपालिका १३ घर भएकी ४३ वर्षीया बविता बस्नेतको खाताबाट फरक–फरक मितिमा १४ करोड ६ लाख ९३ हजार ७ सय ३५ रूपैयाँ झिकेर हिनामिना गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

मोरङ प्रहरीले सरकारी वकिलको कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदन अनुसार उनले सन् २०१६ यताको ६ वर्षमा १४ करोडभन्दा बढी रकम आफैले चलाएको देखिन्छ । सन् २०१६ अगस्ट ७ तारिखदेखि बबिता बस्नेतको नाममा रहेकोे ९९९०००१५००१५ नं.को रेमिट खाताबाट १४ करोड ५ लाख २१ हजार ३ सय ६५ रुपैयाँ र खर्च खाताबाट सन २०१६ अप्रिल २२ तारिखदेखि १ लाख ७२ हजार ३ सय ७० रुपैयाँ गरी ६ वर्षमा १४ करोड ६ लाख ९३ हजार ७ सय ३५ रुपैयाँ अपचलन गरेको प्रहरी अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

घोटाला भएको जम्मा रकममध्ये रेमिट शीर्षकबाट १५ करोड ६९ लाख ७७ हजार ९ सय ७७ रुपैयाँ र खर्च शीर्षकबाट ५ लाख ६२ हजार ५ सय ९८ रुपैयाँ अपचलन भएको देखिन्छ । २०७२ सालदेखि २०७८ मंसिरसम्मको अवधिमा यो रकम अपचलन गरेको देखिएको छ ।
अपलचन भएको रकम बैंकका कर्मचारीसहितका ६ जनाको खाताबाट चलाएको देखिएको छ । तत्कालीन सिइओ नविन सुवेदीको नाता पर्ने बबिता बस्नेत, बैंकका जनरल सर्भिस डिपार्टमेन्ट (जीएसडी) प्रमुख हिमाल भट्टराई, अपरेसन प्रमुख अमित थापा मगर, कमल दाहाल, मनोज भट्टराई र चुडाबहादुर निरौलाको नामको खाताबाट रकम अपचलन गरेको देखिएको छ । सिइओ सुवेदीको नातामा भान्जा पर्ने हिमाल भट्टराईले विभिन्न मितिमा चार पटक रकम झिकेको देखिएको छ ।

भट्टाराईले ९९९००००६४४०११ नं. खाताबाट सन् २०२१ अक्टोबर २६ तारिखमा ७७ लाख ९७ हजार ८ सय ८० रुपैयाँ, २०१८ अप्रिल १ मा १९ लाख ३१ हजार १ सय ६९ र २०१६ मार्च २७ गते ४२ हजार ५ सय रुपैयाँ झिकेको देखिएको छ ।

कमल दाहाल र मनोज भट्टराईको नामको खाताबाट विभिन्न मितिमा २÷२ पटक रकम झिकेको देखिएको छ । कमल दाहालको रेमिट खाताबाट २०१६ अगस्ट १ मा २ लाख ६० हजार, २०१६ मार्च ३० मा खर्च खाताबाट १ लाख १३ हजार ६८० रुपैयाँ झिकेका छन् ।

यस्तै मनोज भट्टराईको खाताबाट २०१६ अक्टोबर ६ तारिखमा रेमिट खाताबाट ३३ लाख ८१ हजार ६३ र खर्च खाताबाट सोही मितिमा १ लाख ९३ हजार ४८ रुपैयाँ झिकेको देखिएको छ । बैंकका अपरेसन प्रमुख अमित थापा मगरको रेमिट खाताबाट २०१६ नोभेम्बर ३ तारिखमा ३ लाख ८६ हजार ५ सय रुपैयाँ हिनामिना भएको छ । यस्तै चुडाबहादुर निरौलाको खर्च खाताबाट २०१६ मार्च २१ तारिखमा ४१ हजार रुपैयाँ झिकेको देखिएको छ ।

बैंकिङ कसुर मुद्दामा सप्तकोशी डेभलपमेन्ट बैंकका तत्कालीन सिइओसहित १२ जनाविरुद्ध मुद्दा दर्ताको तयारी सुरू गरिएको छ ।

मोरङ प्रहरीले बैंकिङ कसुर मुद्दामा अनुसन्धान पूरा गरेर जिल्ला सरकारी वकिलको कार्यालयमा ‘अनुसन्धान प्रतिवेदन’ बुझाएकोले सरकारी वकिलको कार्यालयले अभियोजन बनाउन सुरु गरेको हो । अभियोजन शुक्रबारसम्म पूरा गर्ने भएकोले आइतबार उच्च अदालत विराटनगरमा पक्राउ परेका बैंकका पाँच कर्मचारीसहित १२ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ताको तयारी गरिएको स्रोतले जानकारी दिएको छ ।

‘बैंकिङ कसुर मुद्दामा हामीले अनुसन्धान पूरा गरी प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएका छौं,’ मोरङ प्रहरी प्रवक्ता डिएसपी दिपक श्रेष्ठले भने, ‘अबको प्रक्रिया सरकारी वकिलको कार्यालयले अगाडि बढाउँछ ।’

बैंकको रकम घोटला गरेको प्रहरीमा उजुरी दिएपछि १९ मंसिरमा बैंकका जनरल सर्भिस डिपार्टमेन्ट (जीएसडी) प्रमुख हिमाल भट्टराई पक्राउ परेका थिए । भट्टराई पक्राउ परेपछि १४ पुसमा सिइओ सुवेदीसहित बैंकका लेखा वित्त प्रमुख देवीप्रसाद भण्डारी, अपरेसन प्रमुख अमित थापा मगर पक्राउ परेका थिए । एक हप्ता अगाडि रामेछाप घर भइ विराटनगरमा बस्दै आएका ३० वर्षीय होमप्रसाद पौडेल पनि पक्राउ परेका छन् ।

सरकारी वकिलको कार्यालयले ७ जनालाई फरार प्रतिवादी बनाएर अभियोग दर्ताको तयारी गरेको छ । पक्राउ परेका पाँच र फरार बनाएर ७ जना गरी १२ जना विरुद्ध बैंकिङ कसुरमा मुद्दा दर्ताको तयारी गरिएको हो । फरार प्रतिवादी बनाएर बैंकका कार्यालय सहयोगी चुडाबहादुर निरौला, बैंकका कार्यालय सहयाक पदबाट राजिनामा दिएका निश्चल सुवेदी, बबिता बस्नेत, कमल दाहाल, मनोज भट्टराईलाई लगायतलाई मुद्दा दर्ताको तयारी गरेको अदालत स्रोतले जानकारी दिएको छ ।

धनकुटा प्रधान कार्यालय भएको सप्तकोशी डेभलपमेन्ट बैंकको कर्पोरेट कार्यालय विराटनगरमा छ । त्यही कर्पोरेट कार्यालयबाट रेमिटयान्सको १५ करोड ७५ लाख ४० हजार ५ सय ७५ रुपैयाँ हिनामिना भएको खुलेको थियो । प्रदेश १ को ७ जिल्लामा ३६ वटा शाखा कार्यालय रहेको सप्तकोशी बैंकको ४ अर्ब ३० करोड रुपैयाँ निक्षेप छ । साविकको काबेली विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंक मर्जरमा गएर हाल सप्तकोशी डेभलपमेन्ट बैंक लि. नामबाट वित्तीय कारोबार गरिरहेको यो बैंक नेपाल राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त ‘ख’ वर्गको वित्तीय संस्था हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

राप्रपा अध्यक्ष लिङद ...

कञ्चनपुर । राष्ट्रिय प्रजातन्त्र पाटीका अध्यक्ष एव पुर्वमन्त्री राजेन्द्र लिङदेन कञ्चनपुर आएका छन । ...

गरिब जनताको साहारा ब ...

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माको पहलमा सर्लाहीका एक गरिब परिवारको निःशुल्क उपचार ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved