झापा / झापाको बिर्तामोड र दमकमा बम राखेर आतङ्क आतङ्क सिर्जना गर्नेलाई गर्ने गिरोहका ९ जनालाई प्रहरीले पक्राउ गर्न सफल भएको छ ।
सार्वजनिक स्थानमा प्रेसर कुकर बम राखेर आतंक फैलाउनेलाई पक्राउ गरी बिर्तामोडमा बिहीबार प्रहरीले सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा मन्दिरका पुजारीदेखि लागूऔषध मुद्दामा फरार रहेकासमेत रहेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा गौरादह–२ का ३८ वर्षीय सुमनकुमार कार्की, कनकाई–३ का ४१ वर्षीय भीष्म थापा, दमक–९ की ५० वर्षीया देवी बाँस्कोटा गुरागाईं, कनकाई–३ का ५८ वर्षीय कुमार भन्ने यमदत्त सिटौला, शिवसताक्षी–१ का ३२ वर्षीय सरुण लिम्बू भनिने दिलकुमार सामेखाम, संखुवासभा खाँदवारी–१० घर भई मोरङ सुन्दर हरैचा बस्ने २९ वर्षीय मनोमहन दाहाल, गौरीगञ्ज–३ का ३२ वर्षीय आनन्द भनिने अनन्तप्रसाद गिरी, गौरादह–५ का ३३ वर्षीय प्रदीप थापा, गौरीगञ्ज–३ का ४५ वर्षीय विजयकुमार दास हलुवाई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिए ।
पक्राउ परेकामध्ये सुमनकुमार कार्की मुख्य अभियुक्त हुन् । उनी विगतमा वैदेशिक रोजगारी सम्बन्धी ठगी मुद्दामा विगत दुई वर्ष जेल सजाय काटेका थिए । लागुऔषध मुद्दामा जिल्ला अदालत झापाबाट पक्राउ पूर्जी जारी भई फरार अभियुक्तको सूचीमा छन् । ‘हिमाल सुरक्षा’ परिषद्को नाममा विभिन्न ठाउँमा बम राखेर चन्दाका लागि आतंक फैलाउँदै आएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिए ।
कार्की भारतमा बसेर आर्थिक संकलन गर्दै अपराधिक गतिविधि गर्ने गरेको प्रहरीले जनाएको छ । उनको साथबाट हिमाल सुरक्षा परिषद्को पर्चा, पम्प्लेट, स्ट्याम्प, चन्दा माग्ने गरेको सिमकार्ड, आर्थिक संकलनका लागि लेखिएको पत्रसमेत फेला परेको प्रहरीले जनाएको छ ।
त्यस्तै पक्राउ परेका सिटौला कनकाई–४ स्थित कोटीहोमका पुजारी हुन् । उनले ग्रेटर नेपाल माग राखी प्रेसर कुकर राखेको अभियोगमा पक्राउ परेका एक व्यक्तिसँग मिली कुटीमा बोलाएर हिन्दु राज्य, राजतन्त्र पुनस्र्थापनाको माग राखी पटक–पटक बैठक बसेको प्रहरीले आरोप लगाएको छ । उनले भीष्म थापालाई मोटरसाइकल किनिदिने प्रलोभन देखाएर बम राख्न लगाएको प्रहरीको आरोप छ । थापा ट्युबेल गाड्ने मजदुर हुन् । विगतमा गोरखा जनमुक्ति पार्टीको नाममा अपराधिक गतिविधि गर्दै आएका उनीहरू हाल हिमाल सुरक्षा परिषद्को नाममा संगठित भएर अपराधिक काम गर्दै आएको प्रहरीले जनाएको छ । पक्राउ परेकालाई विष्फोटक सम्बन्धी कसुरमा जिल्ला अदालत झापाबाट म्याद थप भएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
गत माघ ९ गते झापाको बिर्तामोडको पश्चिम बस स्टण्ड नजिकै र १३ गते दमक ५ स्थित सिवान चर्चको गेटमा प्रहरीले बम फेला पारेको थियो । उक्त स्थानमा हिमाल सुरक्षा परिषदको नाममा पर्चा समेत फेला पारेको थियो । उनीहरुले हिन्दु राष्ट्र कायम हुनुपर्ने, संघीयता खारेज हुनुपर्ने लगायत माग राखेर पर्चा बनाएका थिए ।
सरकारले स्थानीय तहको निर्वाचन गर्ने तयारी शुरु गरे लगत्तै झापामा एकपछि अर्को बम आतङ्क सिर्जना भएपछि प्रहरीलाई अनुसन्धानमा निकै चुनौति थपिएको थियो । प्रहरीले निकै लामो अनुसन्धान पछि घटनामा संलग्नलाई पक्राउ गर्न सफल भएको हो । प्रहरीले घटनामा संलग्न भएको आशंकामा दमकबाट कुमार भनिने यमदत्त सिटौला र देवी कास्कोटा(गुरागाई)लाई माघ अन्तिम साता पक्राउ गर्न सफल भयो । उनीहरुलाई पक्राउ गरे लगत्तै घटनामा संलग्नहरु धमाधम पक्राउ गर्न झापा प्रहरी सफल भएको छ ।
अनुसन्धानमा खटिएका प्रहरीहरु झापाका साथै मोरङ, सुनसरी तथा भारतका विभिन्न स्थानमा समेत पुगेर अनुसन्धानलाई तिब्रता दिएका थिए । मुख्य योजनाकारसहितको गिरोह पक्राउ परेपनि उनीहरुको सम्पर्क अनय ब्यक्तिसंग पनि भएको हुन सकने आशंकमा अनुसन्धान अघि बढाइरहेको झापा प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved