इटहरी । एक हप्ताअघि सुनसरीको धरान-४ स्थित जङ्गलमा जेब्रा झोलामा भेटिएको शव झापाका दिपक सिग्देलको भएको खुलेको छ ।
प्रहरीका अनुसार उक्त शव दमक-५ का ४३ वर्षीय दिपक सिग्देलको हो । सुनसरी प्रहरीका अनुसार सोमबार अबेर उनको पहिचान भएको हो । सिग्देलका परिवारले शवको सनाखत गरेका हुन् । सिग्देल भर्खरै वैदेशिक रोजगारीबाट आएका थिए ।
गत बुधबार सो स्थानमा बोरामा मान्छेको टाउको तथा दाहिने खुट्टा एउटामा र त्यसको भोलिपल्ट बिहान घटनास्थलबाट उत्तर धरधरे भन्ने स्थानमा अर्को बोरामा बाँकी शरीर भेटिएको थियो । शव पहिचान भएसँगै अनुसन्धानमा सहयोग पुग्ने प्रहरीले विश्वास गरेको छ ।
प्रहरीका अनुसार सिग्देल बहराइनबाट २० पुसमा नेपाल फर्किएका थिए । काठमाडौंबाट उनी सिधै विराटनगरस्थित कान्छी श्रीमतीकहाँ गएको प्रहरी बताउँछ । त्यसैले पारिवारिक समस्या कारण उनको हत्या भएको हुनसक्ने आशंका गरिएको छ । प्रहरीले अनुसन्धानका लागि केही व्यक्तिलाई नियन्त्रणमा लिएको छ । थप अनुसन्धान जारी छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved