इटहरी । झापा र सुनसरीमा भएका अलगअलग दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ ।झापाको मेचीनगर नगरपालिका–७ मा मोटरसाइकलको ठक्करबाट एक जना किशोरको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १० प २२३२ नम्बरको मोटरसाइकलले युनिक पेट्रोल पम्पनजिक ठक्कर दिँदा १६ वर्षीय श्याम मगरको मृत्यु भएको हो ।
प्रहरीका अनुसार सडक पार गर्दैगर्दा मोटरसाइकलले मङ्गलबार राति ८ बजेतिर मगरलाई ठक्कर दिएको थियो । दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा बिर्तामोडस्थित बि एन्ड सी अस्पतालमा राति ८ः४५ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा सडक पार गर्दै गरेका खोटाङ घर भएका अर्का किशोर गम्भीर घाइते भएका छन् । घाइते अवस्थाका १७ वर्षीय बलबहादुर मगरको सोही अस्पतालमा उपचार जारी छ ।
प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर–१० का २२ वर्षीय अविजित सिटौला पनि सामान्य घाइते भएका छन् । उनको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ ।
प्रहरीले घटनाको अनुसन्धान थालिएको जनाएको छ । प्रहरीका अनुसार तीव्र गतिमा मोटरसाइकल चलाउँदा दुर्घटना भएको पाइएको छ ।
त्यस्तै पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सुनसरीको कोसी गाउँपालिका–६ भण्टाबारीमा ट्रकको ठक्करबाट साइकलमा सवार एक जनाको मृत्यु भएको छ । पूर्वतर्फ जाँदै गरेको प्रदेश–२–०३–००१ ख २५०५ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको साइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
प्रहरीका अनुसार दुर्घटनामा परेर भण्टाबारीका अन्दाजी ६०–६५ वर्षीय भरत सहनीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा इनरुवा अस्पतालमा साँझ ५ः२० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले ट्रक र चालक सर्लाही घर भएका ५४ वर्षीय लासा दोर्जे जिम्वालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको छ । चालकले ध्यान नदिँदा दुर्घटना भएको पाइएको प्रहरीले जनाएको छ ।
उक्त घटनाको विरोधमा उत्रिएका स्थानीयले केही बेर पूर्व–पश्चिम लोकमार्गमा अवरोध गरेका छन् । करीब दुई सय ५० जनाको सङ्ख्यामा भेला भएका स्थानीयले केही बेर लोकमार्गमा अवरोध गरेका हुन् ।
घटनाको विरोध गर्दै उनीहरुले सवारीसाधन चल्न नदिँदा लोकमार्ग लगभग आधा घण्टाभन्दा बढी अवरुद्ध बन्यो । प्रहरीले सम्झाईबुझाई गरेपछि आन्दोलनकारी हटेसँगै सडक सुचारु भएको थियो ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved