६ वर्षसम्म पनि पुल नबनेपछि स्थानीय आफैले हाले काठको पुल

  • फागुन ११, २०७८
  • कालापानी मिडिया
alt

मनाङ । हिमाली जिल्ला मनाङमा ठेकेदारले ठेक्का लिएको छ वर्षसम्म पनि पुल निर्माण नगरेपछि स्थानीयबासी आफैंले काठको पुल बनाएका छन् ।

छ वर्षअघि असारमा द क्याराभान कम्पनीले दूधखोलामा पुल निर्माण गर्ने ठेक्का पाएको थियो । तर ठेक्का लिएर वर्षौंसम्म काम नगरी ठेकेदारले आलटाल गरेपछि स्थानीयबासीले खोलामा काठको पुल निर्माण गरेका हुन् । एक वर्षभित्रै सक्ने गरी ठेक्का लिएको योजना अहिलेसम्म अलपत्र छ ।

क्याराभानले मृत सञ्जीवनी र खड्का कृष्ण जेभीमा काम गर्ने सम्झौता गरेको हो । जिल्लाको थोंचेबाट तिल्चे हुँदै उत्तरी छिमेकी देश चीन जोड्ने सडकमा पर्ने यो पुल वि.सं २०७३ असारमा ठेक्का लागेको थियो । वि.सं २०७४ साउनमा सक्नुपर्ने सम्झौता भए पनि हालसम्म चारपटक म्याद थप भएको छ तर काममा प्रगति छैन ।

भ्याटबाहेक तीन करोड ५५ लाख रुपैयाँमा दिइएको ठेक्काको काम अलपत्र पारे पनि ठेकेदारले करिब एक करोड ३२ लाख रुपैयाँ निकासा पाइसकेको छ । क्याराभानले नै विसं २०७३ असारमा ठेक्का लिएको चार करोड ५७ लाख रुपैयाँको हुम्डे पुलसमेत अलपत्र छ । मर्स्याङ्दी नदीमाथि हुम्डेमा पुल बनाउन तत्कालीन जिल्ला विकास समितिले २०७३ कै असारमा बोलपत्र आह्वान गरेको थियो ।

श्री गाल्वा र क्याराभान कम्पनीले यसको ठेक्का पाए । भ्याटसहित चार करोड ५७ लाख रुपैयाँमा ठेक्का दिइएको यो पुल २०७४ माघमा सक्नुपर्ने हो । तत्कालीन जिल्ला विकास समितिले विभिन्न मितिमा छवटा पुलको ठेक्का लगाएको थियो। पिसाङ र मुङजीमा निर्माणाधीन पुल अलपत्र अवस्थामै छ ।

क्याराभानले म्यार्दीखोलाको पुल भने पूरा गरेको छ । तिमाङको पनि असारको बाढीले भद्रगोल अवस्थामा छ । सडक सञ्जाल ढिलो पुगेको मनाङका अधिकांश खोलामा अहिले पनि काठकै पुल तरेर गाडी र मान्छे आवतजावत गर्छन्। डुम्रे, बेँसीसहर, चामे सडकखण्डमा २१ वटा पक्की पुल निर्माणका लागि प्रस्ताव गरिएको तर बजेट विनियोजन भइसकेको छैन ।

अहिले सडक चामेबाट कटेर भ्राताङ हुँदै उकालो लागेको छ । न सडक पक्की बनेको छ, न पुल राम्रो छ । काठे पुलकै भरमा ठूला गाडीसमेत तर्दा जोखिम बढेको स्थानीयबासी बताउँछन् । नासों गाउँपालिका अध्यक्ष चन्द्र घले ठेकेदारको चरम लापरबाहीले नागरिक सास्ती भोग्न बाध्य भएका बताउँछन् ।

‘मोटरेबल पुल बनाउन सात वर्षभन्दा पहिले ठेक्का दिएको हो । अहिलेसम्म सम्पन्न भएन । त्यहाँका जनतालाई सास्ती छ । उनीहरू मिलेर काठको पुल बनाए’, स्थानीयबासीले भने, ‘गाह्रोसँग त्यही पुलबाट आवतजावत गरेका छन् । यो पनि जेठसम्मका लागि मात्रै हो । खोला बढेपछि पुल बगाउँछ ।’ जिल्लाका सबै योजनाको अनुगमन गर्ने अधिकार पाएको जिल्ला समन्वय समितिका प्रमुख यज्ञप्रसाद घलेले कम्पनीले ठेक्कामात्रै ओगटेर काम नगरेको बताए । ठेकेदारविरूद्ध पटक-पटक उजुरी गर्दा पनि कारबाही नभएको उनको भनाइ छ ।

ठेकेदार कम्पनीले समयमा काम नगरेपछि मनाङवासीले पटक-पटक अख्तियारका प्रतिनिधिलाई खबरसमेत गरेका थिए । निर्माण कम्पनी क्याराभानका फिल्ड इञ्जिनियर प्रशान्त तामाङले मौसम र बाटोका कारण समयमा काम गर्न नसकेको बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

चिनियाँ विज्ञहरूको च ...

काठमाडौँ । नेपाल-चीन सीमावर्ती हिमाली क्षेत्रमा गत बुधबार गएको विनाशकारी बाढीपछि थप ठूलो प्राकृतिक व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved