काठमाडौं । सोलुखुम्बुको तेन्जिङ हिल्लारी विमानस्थल लुक्ला नजिकैको वनमा भीषण आगलागी भइरहेको छ । लुक्ला नजिकैको नक्चुङ भन्ने ठाउँको वनमा लागेको आगोको धुवाँका कारण आज बिहान करिब १ घण्टा विमानस्थल नै बन्द भएको नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ ।
प्राधिकरण प्रमुख द्वारिका अछामीका अनुसार विमानस्थल नजिकैको जङ्गलमा लागेको आगोको धुवाँले धावन मार्ग नै ढाकेपछि विमानस्थल नै बन्द गरिएको हो। अहिले हावाका कारण धुवाँ अन्यत्र बहिरहेकाले उडान भइरहेको छ ।
खुम्बु पासाङ ल्हामु गाउँपालिका २ को नाक्चुङमा रहेको जङ्गलबाट गएरातिदेखि सुरु भएको आगो फैलिँदै गएपछि आगो निभाउनका लागि काठमाडौबाट हेलिकप्टर जाने भएको छ । सीम्रिक एयरसँग मात्रै दमकलसहितको हेलिकप्टर भएकाले सीम्रिक एयरको हेलिकप्टर पठाइएको हो ।
गएरातिदेखि सुरु भएको आगो भिरमा प्रवेश गरिसकेकाले आगो निभाउन हेलिकप्टरको विकल्प नभएको गाउँपालिकाले जनाएको छ। आगलागीको कारण भने पत्ता लाग्न सकेको छैन।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved