काठमाडौं । वर्ष २०७८ मा नेपाली फुटबलको सबैभन्दा ठुलो उपलब्धी साफ च्याम्पियनसिपमा फाइनल पुग्नु रह्यो । नेपाल अहिलेसम्म साफमा फाइनल पुगेको थिएन भन्ने तथ्य यसै वर्ष तोडियो । तर फाइनलमा भारतसँग पराजित हुँदा ऐतिहासिक उपाधि जित्ने नेपालको धोको भने पूरा हुन सकेन ।
राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी मैदान भित्र होस् या मैदान बाहिर पूरै छाए । अझ सामाजिक सञ्जालमा उनको सक्रिएता हेर्नलायक थियो । उनी विवादमा पनि परे । राजीनामा दिन्छु भन्ने देखि नेपाल फर्कन्न भनेरसमेत घुर्काए । अन्ततस् उनी दुई वर्षको सम्झौता थप गर्दै नेपाल आए ।
अल्मुताइरीकै भाषामा भन्दा नेपालले तीन लक्ष्य प्राप्त गर्यो । साफको उपविजेता, एसियन कप छनोटको दोस्रो चरण पार गर्दै तेस्रो चरणमा पुग्नु र नयाँ नेपाली टिम तयार पार्नु । नेपालले भारतसँग मात्रै यस वर्ष ४ खेल खेल्यो । तर जित निकाल्न सकेन । जसमा नेपाल तीन खेलमा पराजित भयो भने एक खेलमा मात्र भारतलाई बराबरीमा रोक्न सफल भयो । यस्तै नेपालले एसियन पावर हाउसहरु इराक, अष्ट्रेलिया अनी जोर्डन र थाइल्याण्ड जस्ता टिमहरुसँग पनि खेल्यो । यी पावर हाउससँगको खेल अनुभव बटुल्ने अवसरको रुपमा मात्र रह्यो । इराक र थाइल्याण्डजस्ता बलिया टिमसँग मैत्रीपूर्ण खेल खेलेको नेपालले पहिलो पटक अफ्रिकन राष्ट्र मरिसससँग पनि मैत्रीपूर्ण खेल खेल्यो । नेपालले यस वर्ष कूल १४ खेल खेल्दा ५ खेल जित्यो । ७ खेलमा पराजित हुँदा २ खेलमा भने बराबरी गर्यो । भारतबाहेक नेपालले बंगलादेशसँग बराबरी खेलेको थियो ।नेपालले अन्तर्राष्ट्रिय स्तरमा साफदेखि विश्वकप छनोटसम्मको खेल खेल्यो । घरेलु फुटबलमा मछिन्द्र फुटबल क्लब अपराजित रहँदै लिग च्याम्पियन बन्यो । तर पहिलो पटक महादेशीय प्रतियोगिता एएफसी कपमा डेब्यु गरेको मछिन्द्र पहिलो खेलमै पराजित हुँदा समूह चरण पुग्न असफल रह्यो । उमेर समूहको महिला फुटबलमा नेपाल फेरि असफल रह्यो । नेपाल, भारत र बंगलादेश सम्मिलित साफ यू-१८ महिला च्याम्पियनसिपमा नेपाल खेलेको चारवटै खेलमा पराजित भयो । तेस्रो संस्करणसम्म आइपुग्दा नेपालको नतिजा कमजोर हुँ गएको छ भने उपाधि जित्ने चाहनामा मात्र सिमित बनेको छ ।
शहीद स्मारक बी डिभिजन लिग पनि आयोजना भयो । चर्च ब्वाइज युनाइटेड बी डिभिजन च्याम्पियन बन्दै ए डिभिजनमा बढुवा भयो । सी डिभिजन छनोट हुँदै सी डिभिजन जितेको चर्च ब्वाइजले शीर्ष डिभिजनमा उडान भरेको छ । यस्तै खुमलटार युथ क्लब दोस्रो स्थानमा रहेर ए डिभिजनमा बढुवा भयो । मोफसलको प्रतिष्ठित आहा रारा गोल्डको उपाधि विभागीय टोली एपीएफले जित्यो । एपीएफले मनाङ मर्स्याङ्दीलाई हराएर पहिलो पटक आहा रारा गोल्डकपको उपाधि जितेको हो । यस्तै सर्वाधिक २१ लाख नगद पुरस्कार भएको खप्तड गोल्डकपको उपाधि भने मनाङ मर्स्याङ्दीले जित्यो । झापा गोल्डकपको उपाधिमा त्रिभुवन आर्मी फुटबल क्लबले निरन्तर कब्जा जमायो ।
साफ च्याम्पियनसिपमा ऐतिहासिक उपलब्धि
यसअघि नेपाल एकपटक पनि साफको फाइनल पुग्न सकेको थिएन । तर यस पटक भने नेपालले फाइनल पुग्नै नयाँ इतिहास बनायो । त्यसको खाका बुन्ने काम प्रशिक्षक अलबुद्ला अलमुताइरीले गरे । यस पटक साफ च्याम्पियनसिपमा ५ टिम मात्र सहभागी थिए । सहभागी टिमले राउण्ड र विन लिगका आधारमा एक आपसमा खेलेपछि शीर्ष दुईमा रहने टिमले फाइनल खेलेका थिए । नेपालले वर्ष २०७८ मा खेलेका सबै खेल उनै अल्मुताइरीको प्रशिक्षणमा थियो । वर्षको पहिलो खेल इराक विरुद्ध र अन्तिम खेल थाइल्याण्ड विरुद्ध रह्यो । दुवै खेलमा नेपाल पराजित भयो ।
चिर प्रतिद्वन्द्वी भारतसँग नै चार खेल
नेपालले वर्ष २०७८ मा भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्यो । त्यसमा नेपाल तीन खेलमा पराजित हुँदा एक खेलमा भने भारतलाई बराबरीमा रोक्न सफल भयो ।
नेपालले भारतसँग घरेलु मैदानमा दुई मैत्रीपूर्ण खेल खेलेको थियो । पहिलो खेलमा नेपालले भारतसँग १–१ गोलको नतिजा निकालेको थियो ।
त्यस्तै दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल २–१ गोल अन्तरले पराजित भयो । घरेलु मैदानमा नै पराजित हुँदा नेपाली समर्थक निराश भए । तर, नेपाली टोलीले गरेको प्रदर्शन सम्झन लायक थियो ।
यता बाँकी दुई खेल नेपालले साफ च्याम्पियनसिपमा खेलेको थियो । पहिलो खेलमा नेपाल १–० गोल अन्तरले पराजित भयो । फाइनल खेलमा नेपाल ३–० गोल अन्तरले पराजित भयो । नेपालले सबै खेल अलमुताइरीको प्रशिक्षकत्वमा खेलेको थियो ।
अल्मुताइरी छाएको वर्ष
वर्ष २०७८ मा नेपाली फुटबलले हासिल गरेको उपलब्धि अनी फुटबलसँग जोडिएका धेरै घटनामा प्रशिक्षक अब्दुल्लाह अलमुताइरी मजाले छाए । यही वर्ष उनले नेपालको प्रशिक्षकमा डेब्यु गरे । नेपाललाई पहिलो पटक साफ च्यम्पियनसिपको फाइनलमा पुर्याए । एएफसी कपमा पनि नेपाल तेस्रो चरणमा प्रवेश गर्यो । इराक र थाइल्याण्ड जस्ता देशसँग नेपालले मैत्रीपूर्ण खेल खेल्यो ।
नेपाली टिमलाई एकजुट बनाउने काम उनैले गरे । वान टिम वान गोल जय नेपाल भन्ने नारासहित उनले नेपाललाई अघि सारे । मैदान भित्र उनले नतिजा दिलाए । तर मैदान बाहिर पनि उनी उत्तिकै सक्रिए रहे । अखिल नेपाल फुटबल संघ _एन्फा)का उपाध्यक्ष पंकज विक्रम नेम्वाङलाई जोडेर राजीनामा दिने नाटक पनि गरे । उनले नेपाल छाड्ने धम्की पनि ३ पटक दिए । अन्तत नेपाल पर्कन राजी भए र ३ वर्षको सम्झौता गर्दै नेपाल आए ।सामाजिक सञ्जालमा सक्रिए रहने अल्मुताइरी समर्थकहरुसँग पनि मज्जाले संवाद गर्छन् ।
हारबाट सुरु भएको वर्ष हारबाट नै अन्त्य
इरानसँगको ६–२ गोलको हारसँगै नेपालले वर्षको सुरुवात गर्यो । एसियाली पावर हाउससँग ६–२ गोलको नतिजा नेपालका लागि सफलता जस्तै थियो । यो हारबाट वर्षको सुरुवात गरेको नेपालले गत सता मात्र थाइल्यान्डसँग २–० गोल अन्तरले पराजित भयो ।
दुवै टोली नेपालका लागि अनुभव एक नयाँ अनुभवका रूपमा थिए । अफ्रिकन राष्ट्र मरिससविरुद्धको खेल पनि नेपालका लागि ठूलो उपलब्धि भयो । मरिससविरुद्धको दुवै मैत्रीपूर्ण खेलमा नेपालले १–० गोलको नतिजा निकाल्यो ।
नेपालका लागि सुरुवात र अन्त्य खराव भएपनिबीचका नतिजा भने सम्झन लायक भए । योबीच नेपालले चाइनिज ताइपेईलाई हरायो भने जोर्डन, अष्ट्रेलिया जस्ता देशहरुलाई कडा टक्कर दियो । विश्वकप खेलि सकेको अष्ट्रेलियासँग नेपाल ३–० गोल अन्तरले पराजित भयो । यता ओमानसँग फराकिलो हार बेहोरेको नेपालले माल्दिभ्स र श्रीलङ्कालाई हरायो ।
नेपालका लागि यो वर्षको समग्र सफलता हेर्दा साफको फाइनलमा पुग्न सफल भयो । त्यस्तै एसियन कप छनोटको दोस्रो चरण पार गर्दै तेस्रो चरणमा पुग्नु नेपालका लागि अर्को सफलता हो । नेपालले यस वर्ष १४ खेल खेल्दा ५ खेल जित्यो । ७ खेलमा पराजित हुँदा २ खेलमा भने बराबरीको नतिजा हात पार्यो ।
मच्छिन्द्र लगातार दोस्रो पटक लिग च्याम्पियन देखि एएफसी कपको डेब्यूमै हारसम्म
घरेलु फुटबलमा चर्चामा आएको नाम हो मच्छिन्द्र फुटबल क्लब । मच्छिन्द्रले यो वर्ष लगातार दोस्रो पटक ए डिभिजन लिग जित्ने उपमा पायो । दुवै वर्ष विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब दोस्रो बन्यो ।
ए डिभिजन लिग च्याम्पियन बनेको मच्छिन्द्र पहिलो पटक एएफसी कपमा डेब्यू गर्ने मौका पायो । अघिल्लो पटक एएफसीको लाइसेन्स नपाउँदा मच्छिन्द्रले एएफसी कपको छनोट प्रतियोगिता खेल्न पाएको थिएन ।
यो पटक छनोट खेल खेले पनि मच्छिन्द्र समूह चरणमा पुग्न नपाउँदै बाहिरियो । मच्छिन्द्र घरेलु मैदानमा श्रीलङ्काको ब्लू स्टारसँग २–१ गोल अन्तरले पराजित भएको थियो । उसो त लिग च्याम्पियन मच्छिन्द्रका लागि यो एक नयाँ अनुभव पनि थियो ।
चर्च ब्वाइज र खुमलटारको ए डिभिजन लिग यात्रा
सहीद स्मारक ‘बी’ डिभिजन लिगमा उत्कृष्ट प्रदर्शन गरेका चर्च ब्वाइज क्लब र खुमलटार क्लब ए डिभिजन लिगमा बढुवा भए ।
चर्च ब्वाइजले २०७६ सालमा सी डिभिजन छनोटको उपाधि जितेको थियो । त्यसपछि गत वर्ष चैतमा ‘सी’ डिभिजन लिगको उपाधि जित्यो । त्यसपछि चर्च ब्वाइजले ‘बी’ डिभिजन लिगको उपाधि जित्न सफल भयो ।
नेपाली फुटबलमा अब चर्च ब्वाइजको चर्चा सुनिने छ । जुन तरिकाले चर्च ब्वाइजले आफ्नो उडान लिएको छ त्यसलाई कायम राखेमा एक दिन चर्च ब्वाईज ए डिभिजन लिगको उपाधि विजेता बनेको हेर्न पक्कै पाइनेछ ।
यता २०६१ सालमा स्थापना भएको खुमलटारले १८ वर्षपछि ए डिभिजन लिग खेल्न पायो । गत वर्ष एक टिम मात्र ए डिभिजन लिगमा उक्लने भएपछि खुमलटारले दोस्रोमा चित्त बुझायो । तर पयो वर्ष भने खुमलटार शीर्ष डिभिजनमा उक्लन सफल भयो ।
मोफसलको प्रतिष्ठित आहा रारा गोल्डको उपाधि विभागीय टोली एपीएफले जित्यो । एपीएफले मनाङ मर्स्याङ्दीलाई हराएर पहिलो पटक आहा रारा गोल्डकपको उपाधि जितेको हो । यस्तै सर्वाधिक २१ लाख नगद पुरस्कार भएको खप्तड गोल्डकपको उपाधि भने मनाङ मर्स्याङ्दीले जिते । झापा गोल्डकपको उपाधिमा त्रिभुवन आर्मी फुटबल क्लबले निरन्तर कब्जा जमायो ।
एसियन कपमा छनोट हुनबाट चुकेको महिला टोली
महिला फुटबलका लागि यो वर्ष त्यति सम्झना लायक रहेन । महिलो टोली एफसी एसिया कप महिला छनोट खेलमा सोचे अनुरुप प्रदर्शन गर्न सकेन । फलस्वरुप नेपाल एसिया कपमा छनोट हुने सपना साकार हुन सकेन ।
नेपाल, फिलिपिन्स र हङकङ रहेको यस समूहबाट फिलिपिन्स विजेता बनेर भारतमा भएको एसिया कपमा छनोट भयो । तर, नेपाल समूह चरणबाटै बाहिरियो ।
यता महिला टोलीको उमेर समूहमा पनि खस्कँदो प्रदर्शन भयो । साफ यू–१९÷यू–१८ च्याम्पियनसिप दुवै प्रतियोगितामा नेपाल कमजोर बन्यो । नेपालका लागि बंगलादेश र भारत नै बाधक बने । भारत चैतमा भएको साफ यू–१८ को तेस्रो संस्करणमा नेपालले कमजोर प्रदर्शन गर्यो । तीन टोली मात्र समावेश डबल राउण्ड रोविनको आधारमा भएको प्रतियोगितामा नेपालले खेलेका पराजित भयो । नेपालले एक खेलमा पनि जित निकाल्न सकेका ।
१२ जना नयाँ खेलाडीले राष्ट्रिय जर्सी पहिरिएको वर्ष
नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अलमुताइरीले १२ जना नयाँ खेलाडीलाई राष्ट्रिय टोलीमा डेब्यू गराए । इराकविरुद्धको मैत्रीपूर्ण खेलमा गौतम श्रेष्ठ र मनिष डाँगीले डेब्यू गरे ।
त्यस्तै नेपालका लागि कमल थापा, आयुष घलान र सुरजज्यु ठकुरीले पनि नेपालका लागि डेब्यू गरे । उनीहरूले कुवेतमा विश्वकप छनोटअन्तर्गत अष्ट्रेलियाविरुद्धको खेलमा डेब्यू गरे ।
अलमुताइरीले घरेलु मेदानमा ६ खेलाडीको डेब्यू गराए । त्यसमा भारतविरुको मैत्रीपूर्ण खेलमा चार खेलाडीले डेब्यू गरे भने जसमा नितिन थापा, विशाल श्रेष्ठ र राजन गुरुङ हुन् ।
मरिससविरुद्ध दुई मैत्रीपूर्ण खेलमा पनि नयाँ युवा खेलाडीले डेब्यू गरे । मिडफिल्डर सुदीप गुरुङ, आकाश बुढा मगर र नविन गुरुङले डेब्यु गरे । यता थाइल्याण्डविरुद्धको खेलमा प्रशान्त अवस्थीले डेब्यू गरे ।
नेपाल सुपर लिगको विवाद
नेपाल सुपर लिग (एनएसएल)को आयोजनाले नेपाली फुटबलमा नयाँ मोड लिने अपेक्षा गरिएको थियो । पहिलो संस्करण सफलताका साथ सम्पन्न गरेको सुपर लिग दोस्रो संस्करणमा पुग्दा विवादमा तानियो ।
खेलाडीहरूको अनुबन्धको विषयलाई लिएर ए डिभिजन लिग क्लबहरूले विवाद गरेपछि लिग हुन सकेन । नेपाली फुटबलको इतिहासमा पहिलो पटक फ्रेन्चाइज आयोजना भएको फुटबलले राम्रो उचाइ लियो ।
पहिलो सिजन सात टोली सहभागी भएको प्रतियोगिता दोस्रो वर्ष १० टोलीमा पुग्यो । तर, दोस्रो सिजन हुने नहुने अहिलेसम्म अन्योलमा छ ।
एनएसएल गर्ने विषयमा एन्फाले टाइसिट ड्र नै रोक्न निर्देशन दिएको थियो । त्यसपछि क्लब टू क्लब सहमति हुने भएपछि एनएसएलको नयाँ मितिको विषयमा छलफल भइरहेको छ ।
वर्ष २०७८ मा फुटबल
१ -एएफसी कप २०२१ प्रारम्भिक छनोट (दोस्रो चरण)
२- नेपाल सुपर लिग (एनएसएल)
३- छैटौं विराट गोल्डकप
४- इराक विरुद्ध मैत्रीपूर्ण खेल
५-विश्वकप छनोट (दोस्रो चरण)
६-सी डिभिजन छनोट
७-नेपाल भर्सेस भारत मैत्रीपूर्ण खेल (पुरुष)
८-नेपाल भर्सेस बंगलादेश मैत्रीपूर्ण खल (महिला)
९-एएफसी महिला एसिया कप छनोट
१०-साफ च्याम्पियनसिप
११-एएफसी यू-२३ एसिया कप छनोट
१२-उपमेयर कप राष्ट्रिय महिला लिग छनोट
१३-साफ यू-१९ महिला च्याम्पियनसिप
१४-सहीद स्मारक ए डिभिजन लिग
१५-साफ यू१८ महिला च्याम्पियनसिप
१६-आहा रारा गोल्डकप
१७-मरिसस विरुद्ध मैत्रीपूर्ण खेल
१८-शहीद स्मारक बी डिभिजन लिग
१९-खप्तड गोल्डकप
२०-झापा गोल्डकप
२१-राजर्षी जनक गोल्डकप
२२-जितपुर सिमरा गोल्डकप
२३-दमक गोल्डकप
२४-एएफसी कप २०२२ प्रारम्भिक छनोट (पहिलो चरण)
२५-राष्ट्रिय महिला लिग (पहिलो चरण)
२६-नेपाल फुटबल टिम थाइल्याण्ड भ्रमण
२७-इटहरी गोल्डकप
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved